सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रहरी सक्रिय : 'सत्यता बुझेर मात्र लाइक, सेयर र कमेन्ट गरौं'
काठमाडौं : निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा बढ्दो सक्रियतासँगै हुन सक्ने दुरुपयोगलाई रोक्न नेपाल प्रहरीले सूक्ष्म निगरानी थालेको छ।
विशेषगरी डिजिटल माध्यममा हुने व्यक्तिगत चरित्रहत्या, मिथ्या सूचनाको प्रवाह र भ्रामक सामग्री पोष्ट गर्ने कार्यलाई लक्षित गरी प्रहरीले अनुगमन तीव्र पारेको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब उपरीक्षक अविनारायण काफ्लेका अनुसार सामाजिक सञ्जालको उच्च निगरानी भइरहेको र गलत सूचना सार्वजनिक गर्नेहरूमाथि कारबाही गर्ने तयारी थालिएको छ।
सामाजिक सञ्जालको दुरुपयोग सम्बन्धमा प्रहरीले छुट्टै टोली नै बनाएर अनुगमन गरिरहेको छ भने प्रहरीको साइबर ब्यूरोले समेत अमर्यादित गतिविधि नियन्त्रणमा विशेष सक्रियता देखाएको उनले जानकारी दिए।
सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यममार्फत गलत सूचना र भ्रम फैलाउने, जातीय, धार्मिक, सामाजिक र साम्प्रदायिक सद्भाव बिगार्ने कार्यलाई प्रहरीले गम्भीरतापूर्वक लिएको छ। प्रवक्ता काफ्लेका अनुसार अरूको चरित्रहत्या गर्ने तथा शान्ति सुरक्षामा असर पार्ने सामग्री बनाउने र सेयर गर्नु अपराध हो।
कुनै पनि घटना, कसैको अभिव्यक्ति, तस्बिर वा भिडियोलाई झुट्टो, गलत वा भ्रमपूर्ण रूपमा काँटछाँट गरेर अफवाह फैलाउने उद्देश्यले प्रयोग नगर्न प्रहरीले सबैमा आग्रह गरेको छ। यस्ता सामग्रीलाई प्रोत्साहन गर्ने गरी लाइक, सेयर वा कमेन्ट गर्नु समेत कानुन विपरीत हुनेतर्फ प्रहरीले ध्यानाकर्षण गराएको छ।
अनलाइनमा देखिने कुनै पनि सामग्री सेयर गर्नुअघि त्यसको सत्यता बुझ्नुपर्ने दायित्व आम नागरिकको रहेको प्रहरीको भनाइ छ।
प्रहरीले सार्वजनिक आह्वान गर्दै भनेको छ, “सुरक्षित, सभ्य र सकारात्मक डिजिटल वातावरण निर्माण गर्न हामी सबैको भूमिका महत्त्वपूर्ण छ। जिम्मेवार नागरिक बनौं, समाजमा शान्ति तथा सद्भाव कायम राख्न सबैले सहयोग गरौं।”
माघ २३, २०८२ शुक्रबार २२:३७:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।