नागरिकको विश्वास पुनर्स्थापना गर्न कांग्रेसको नेतृत्व आवश्यक : विश्वप्रकाश शर्मा

नागरिकको विश्वास पुनर्स्थापना गर्न कांग्रेसको नेतृत्व आवश्यक : विश्वप्रकाश शर्मा

पाटन : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको अपेक्षा सम्बोधन र नेपाली समाजलाई एकताबद्ध बनाउन सक्ने नेतृत्व कांग्रेससँग रहेको बताएका छन्। 

कांग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा शुक्रबार यहाँ आयोजित निर्वाचन विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै उनले देशको परिस्थिति र नागरिकबीचको विश्वास पुनर्स्थापना गर्न कांग्रेसको नेतृत्व आवश्यक रहेको जिकिर गरे।

शर्माले हरेक कालखण्डमा कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको पनि उल्लेख गरे। उनले देशमा उत्पन्न विषम परिस्थितिका कारण दुई वर्ष अगावै निर्वाचन हुन गइरहेकाले देशको हितमा समन्वय र सहकार्य गर्ने काम कांग्रेसले गर्न सक्ने बताए।

“समाजलाई गाँस्न सक्ने समावेशी राजनीति बिपी कोइरालाले गर्नुभएको थियो, गिरिजाप्रसाद कोइरालाले द्वन्द्वको निवारण गर्दै माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुभएको थियो,” उनले भने, “कांग्रेस जिम्मेवार राजनीतिक दल भएकाले विगतमा भएको कमजोरी सुधार गर्दै गालीको राजनीति बन्द गरी बदलिएको परिवेशअनुसार समृद्धि र समुन्नतिको लक्ष्यमा अगाडि बढ्ने छ।”

माघ २३, २०८२ शुक्रबार २१:५९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।