गगनको सन्देश : 'कांग्रेसले अब देश सम्हाल्छ र सुधार्छ'
गण्डकी : नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा व्याप्त सार्वजनिक निराशाको मुख्य कारण भ्रष्टाचार भएको बताएका छन्। कांग्रेस कास्कीद्वारा पार्टी कार्यालयमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्धको अभियानमा बदलिएको कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उल्लेख गरे।
उनले नेपाललाई विगतमा हिंसाको आहालबाट बाहिर निकालेको कांग्रेसले अब भ्रष्टाचारको आहालबाट देशलाई बाहिर निकाल्ने दाबी गरे। थापाले नागरिकको असन्तुष्टि र आक्रोशको जवाफ सुधारबाटै दिनुपर्ने बताए। उनले नागरिकहरूमा रहेका सबै असन्तुष्टिको जवाफ दिन जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिए।
“नागरिकमा रिस गहिरो छ। राज्यका संस्था, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास छ। यसलाई सुधारबाटै जवाफ दिनु आवश्यक छ,” उनले भने, “नागरिकमा अविश्वास बढ्दै गएको छ। चरम निराशा छ। यी सबै कुरालाई आत्मसात गर्दै देशलाई सम्हाल्नु छ। देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्छ।”
निर्वाचनलाई केन्द्रमा राखेर हरेक मतदाताका घरघरमा पुग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै थापाले जनतासँग कुरा गर्नुका समस्यालाई धैर्यताका साथ सुन्नुपर्नेमा जोड दिए। “देशका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरी पार्टी निर्वाचनमा होमिएको छ। अब कांग्रेसले देश सम्हाल्छ र सुधार्छ भन्ने सन्देशसहित जनतामाझ जानुपर्छ। सबै पार्टी पङ्क्ति एकताबद्ध भएर निर्वाचनमा होमिऔं,” उनले भने।
बैठकपछि सभापति थापा पार्टीको गण्डकी प्रदेश समितिको बैठकमा सहभागी भए। उनलाई पार्टीका प्रदेश सभापति शुक्रराज शर्माले स्वागत गरेका थिए। बैठकको सुरुआत गर्दै शर्माले आम जनताको चाहनाअनुरूप देशलाई अघि बढाउनका लागि कांग्रेसको काँधमा महत्त्वपूर्ण जिम्मेवारी आएको बताए।
निर्वाचनमार्फत पार्टीलाई थप सशक्त बनाएर देशका हरेक समस्यालाई समाधान गर्ने गरी अघि बढ्नुपर्ने आवश्यकताअनुसार परिचालित हुन निर्देशन दिए। बैठकमा प्रदेश समितिका पदाधिकारीसहित गण्डकी प्रदेशमा पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ।
माघ २३, २०८२ शुक्रबार १४:४९:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।