पक्राउअघि प्रहरी र प्रसाईंबीच तीन मिनेट गलफती- ‘पुर्जी देखाउनुस्, म आफ्नै गाडीमा आउँछु’
काठमाडौं : मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार काठमाडौंको चाल्नाखेलबाट नाटकीय शैलीमा पक्राउ गरेको छ।
पक्राउ गर्ने क्रममा प्रसाईं र प्रहरीबीच सडकबीचमै करिब तीन मिनेटभन्दा बढी समय सवालजवाफ भएको थियो।
सार्वजनिक भएको भिडियोमा प्रसाईं आफ्नो सेतो रङको गाडीभित्र बसिरहेका देखिन्छन् भने उनलाई बाहिरबाट प्रहरीले घेरेका छन्। प्रहरीले उनलाई ओर्लिन आग्रह गर्दा प्रसाईंले सुरूमा पक्राउ पुर्जीको माग्छन्।
भिडियोमा देखिएको संवाद यस्तो छ:
प्रसाईं: तपाईंले मलाई पक्राउ पुर्जी दिनुस्। म सित अदालतको आदेश छ।
प्रहरी: आउनुस्, हिँड्नुस्। गाडी फर्काउनुस्।
प्रसाईं: म अपराधी हो र? म भागेर कतै जान्नँ। म आफ्नै गाडीमा आउँछु भन्दा किन नदिएको? मसँग हिजोको पत्र छ।
प्रहरी: होइन, तपाईं हाम्रो गाडीमा बस्नुपर्छ। प्रहरीको गाडीमा जानुपर्छ।
प्रसाईं: मलाई पत्र देखाउनुस्, अनि मात्र आउँछु। आधार प्रमाणबिना म कसरी जाने? तपाईंहरूले कहिले पोखराबाट, कहिले कहाँबाट मलाई दुःख दिइरहनुभएको छ।
प्रसाईंले बारम्बार आफ्नो निजी गाडीमा प्रहरीकै पछि-पछि आउने अडान राखिरहेका थिए। उनले प्रहरी अधिकारीलाई आफ्नो मोबाइलमा केही कागजपत्र देखाउन खोजेका पनि देखिन्छ।
तर, प्रहरीले उनलाई आफ्नो गाडीमा चढ्न अनुमति दिएन। प्रहरीले उनलाई भोटाहिटीस्थित साइबर ब्यूरोमा लैजाने भनेर प्रहरीकै भ्यानमा जान बारम्बार भनेपछि प्रसाईं केही आक्रोशित मुद्रामा गाडीबाट ओर्लिएका थिए।
गाडीबाट ओर्लिएपछि पनि उनले केही बेर प्रहरीसँग प्रतिवाद गरे। ‘म आफ्नै गाडीमा आउँछु भन्दा पनि किन यसो गरेको?’ भन्दै उनले प्रश्न गरिरहे। अन्ततः समर्थक र मिडियाको भीडबीच प्रहरीले उनलाई सुरक्षा घेरामा राखेर प्रहरी गाडीमा चढाएको थियो।
प्रसाईंलाई साइबर ब्युरोमा दर्ता भएको उजुरीका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसअघि उनले निर्वाचन आयोगको निर्णय र नेता गगन थापाविरुद्ध भ्रमपूर्ण प्रचार गरेको आरोप लागेको थियो। उनी दुई साताअघि मात्रै हिरासतबाट छुटेका थिए।
माघ २३, २०८२ शुक्रबार १४:२०:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।