बर्थडे पार्टीमा १६ वर्षीया किशोरीलाई बेहोस बनाएर सामूहिक बलात्कार, एक जना पक्राउ पर्दा तीन जना फरार
काठमाडौं : काठमाडौंको चन्द्रागिरी नगरपालिका-९, मच्छेगाउँमा जन्मदिन मनाउने बहानामा बोलाएर एक १६ वर्षीया किशोरीमाथि चार जना युवाले सामूहिक बलात्कार गरेको गम्भीर घटना सार्वजनिक भएको छ।
यस सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले माघ २२ गते काठमाडौं जिल्ला अदालतमा चार जना विरुद्ध जबर्जस्ती करणीको मुद्दा दायर गरेको छ।
अदालतमा दायर गरिएको अभियोग पत्र अनुसार घटना गत २०८२ पुस २४ गते साँझको हो। पीडित १६ वर्षीया किशोरीलाई उनकी साथीले आफ्ना साथी जीवन क्षेत्री भनिने खगेन्द्र धितालको जन्मदिन परेको भन्दै चन्द्रागिरी-९ स्थित मच्छेगाउँमा रहेको कोठामा लगेकी थिइन्।
त्यहाँ पुगेपछि चार जना युवाहरू र पीडितसहित उनकी साथी जम्मा भई रमाइलो गर्ने क्रममा मदिरापान सुरू भएको थियो। अभियोग पत्रमा उल्लेख भए अनुसार, पीडितलाई ‘जबर्जस्ती रुपमा मदिरा सेवन गराई लठ्ठ पारी’ करिब राति ९ बजेपछि अचेत अवस्थामा पुर्याइएको थियो।
होस नभएको अवस्थाको फाइदा उठाउँदै ती चारै जना युवाले रातभर पालैपालो सामूहिक बलात्कार गरेको पीडितको बयानमा उल्लेख छ।
भोलिपल्ट पुस २५ गते बिहान उठ्दा पीडितले आफूलाई नग्न अवस्थामा र शरीरमा, विशेष गरी घाँटीमा दागहरू देखेको तथा शरीर अत्यन्तै गलेको महसुस गरेपछि घटनाको बारेमा थाहा पाएकी थिइन्।
अपराधमा संलग्न भएको अभियोगमा चार जना विरुद्ध मुद्दा दायर गरिएको छ। जसमा एक जना पक्राउ परेका छन् भने तीन जना फरार छन्। बर्दियाको बाँसगढी नगरपालिका-५ घर भएका २१ वर्षीय भीमराज बोहरा प्रहरी हिरासतमा छन्।
बर्दियाको बाँसकगढी-५ कै अर्का दुई खगेन्द्र धिताल भन्ने २२ वर्षीय जीवन क्षेत्री र २१ वर्षीय समिर पाण्डे तथा ठेगाना नखुलेका सुदीप योगी फरार छन्।
सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१), (२), (३) (घ) र (७) बमोजिमको कसुर गरेको ठहर गर्दै सोही संहिता अनुसार हदैसम्मको कारबाही माग गरेको छ।
पीडित १६ वर्षकी नाबालिका भएकाले १० देखि १२ वर्ष कैद र सामूहिक बलात्कार गरिएको हुनाले थप ५ वर्ष कैद सजायको माग गरिएको छ। यसका अलावा पीडितलाई शारीरिक र मानसिक आघात परेको भन्दै प्रतिवादीहरूबाट मनासिब क्षतिपूर्ति भराउन समेत माग गरिएको छ।
घटना भएको दुई दिनपछि पीडितको स्वास्थ्यमा समस्या आएपछि र परिवारलाई जानकारी गराएपछि मात्र प्रहरीमा जाहेरी परेको थियो। प्रहरीले मुख्य अभियुक्त भीमराज बोहरालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो भने अन्य तीन जनाको खोजी कार्य जारी राखेको छ।
माघ २३, २०८२ शुक्रबार १०:२५:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।