चुपचाप छापको विपक्षमा ‘अबकी बार नो चुपचाप छाप’ अभियान, उम्मेदवारलाई प्रश्न सोध्न सञ्जालमा नयाँ ट्रेन्ड
काठमाडौं : फागुन २१ को निर्वाचनमा दलका उम्मेदवारहरू घोषणा पत्रै नलिई मतदाताको घर दैलोमा पुग्दा आलोचना भइरहेको छ। नेपाली कांग्रेसका उम्मेदवारहरू हुन् या एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका अन्य दलका उम्मेदवार हुन्, मतदाताले सोधिरहेका छन् “तपाईँहरूको नीति चैँ के हो?”
झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह जहाँ-जहाँ गइरहेका छन् ‘चुपचाप घण्टी छाप” को नारा लागिरहेको सुनिन्छ। तर उनी भने चुप बस्न सकेका छैनन्।
दोस्रो पटक निर्वाचन क्षेत्रमा जाँदा काठमाडौंको मेयर हुँदा सुकुम्वासी बस्ती हटाउन अपनाएको शैलीबारे आएको जिज्ञासाबारे बोल्नै पर्यो। उनले आफूले गर्न चाहेको के हो तर भयो के भनेर प्रस्टीकरण दिनु पर्यो।
यति मात्रै हैन, मतदाताले उनीसँग रास्वपाको चुनावी नीतिबारे जिज्ञासा राखेपछि केन्द्र, निर्वाचन क्षेत्र अनि भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अलग अलग प्राथमिकता हुने र त्यसबारे केन्द्रमा काम भइरहेको जवाफ दिन बाध्य भए।
दोस्रो घरदैलोमा उनी बोल्न बाध्य भए। तर अझैँ पनि उनको प्रचार टिमले पठाएका भिडियोहरू हेर्ने हो भने चुपचाप, घण्टी छापको नारा लागिनै रहेको छ।
भिडमा जे नारा लागे पनि मतदाताहरू भने चुपचाप न रास्वपा, न कांग्रेस न त एमाले वा अन्य दलका उम्मेदवारलाई भोट दिने पक्षमा छन्।
जति “चुपचाप”को भिडियो सामाजिक सञ्जालमा फैलिइरहेका छन् त्यति नै दलका उम्मेदवारहरूलाई हरेक उमेर समूहका उम्मेदवारहरूले नीतिबारे प्रश्न गरिरहेका छन्। चुकचुक बनाउने दृश्य चैँ उनीहरू बन्दै छ भन्दै पन्छिरहेका छन्।
उम्मेदवारहरूलाई मतदाताले नीति र घोषणा सोध्दै हैरान बनाउन थालेपछि दलहरूले केन्द्रबाटै कसको नेतृत्वमा के भइरहेको छ भन्ने सार्वजनिक गरिरहेका छन्।
नेपाली कांग्रेसले भिजन १० अवधारणा सार्वजनिक गर्दै पार्टी सभापति गगन थापाको नेतृत्वमा घोषणा पत्र लेख्ने काम भइरहेको सार्वजनिक गरेको छ। एमालेमा अध्यक्ष केपी ओली नै घोषणा पत्र लेख्न खटिएको दाबी आइरहेका छन्। रास्वपाले पार्टी उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा सय दिनमा गर्ने सय कामको सूचीसहितको घोषणा पत्र लेख्ने काम भइरहेको सार्वजनिक गरेको छ।
तै पनि चुपचाप मत हलाउने दबाब कम भएको छैन।
लोकतन्त्रमा चुपचाप नभई मतदानको निर्णय दल र दलका उम्मेदवारबीच नीति र कार्यक्रमबारे हुने स्वस्थ बहसबाट हुनु अनिवार्य हो। बहसविनाको निर्णयले असल नेतृत्वको चयन हुन सक्दैन।
यो चुपचापको कोलाहलमा कतै मतदान अगाडिको सवालजवाफ हराउने त हैन भनेर सामाजिक सञ्जालमा प्रश्न सोधौँ अर्थात् #askquestion ह्यासट्याग सुरु भएको छ।
त्यसलाई कलाकार, चिकित्सकदेखि केही दलका उम्मेदवारहरूले सामाजिक सञ्जालमा फैलाइरहेका छन्। त्यसमध्येका एक देखिए चिकित्सक रामजी राम।
रास्वपाको समानुपातिक सूचीमा रहेका उनले चुपचाप मतदान गर्नुपर्ने अभियानको विपक्षमा पोस्टर सार्वजनिक गर्दै लेखेका छन् “ अबकी बार नो चुपचाप! एजेन्डा पुछके नीति बुझके छाप! यो दिन्छु र त्यो गर्छु भन्नेलाई सोधौँ है! कसरी दिने, कसरी गर्ने? आखिर भुत्ल्याउने त हामीलाई नै त होला!'
अर्का कलाकार रवीन्द्र सिंह बाँनीयाले अबकी बार नो चुपचाप, अजेण्डा पुछ, नीति बुझ अनि छाप” लेखेको पोस्टर सामाजिक सञ्जालमा राखेर लेखेका छन् “नो चुपचाप छाप।”
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओम विक्रम भाटले आफ्ना उम्मेदवारहरूलाई प्रश्न सोधौँ भन्दै नौ बुँदा रहेको पोस्टर सार्वजनिक गरेका छन्। खेमराज थापा दैलेखी लगायतले पनि चुपचापको विपक्षमा सामाजिक सञ्जालमा सन्देशहरू राखेका छन्।
माघ २२, २०८२ बिहीबार १९:१०:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।