अव्यवस्थित पार्किङ गर्ने बसमाथि ट्राफिक प्रहरीको कारबाही

अव्यवस्थित पार्किङ गर्ने बसमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं : सडकमा जथाभाबी पार्किङ गरी सर्वसाधारण र अन्य सवारी साधनको आवागमनमा बाधा पुर्याउने सार्वजनिक सवारी साधनमाथि उपत्यका ट्राफिक प्रहरीले निगरानी बढाएको छ।

उपत्यकाभित्र बढ्दो सवारी जाम र अव्यवस्थित पार्किङ हटाउन सञ्चालित विशेष जाँच अभियानको क्रममा बिहीबार ट्राफिक प्रहरीले जथाभाबी पार्किङ गरी सवारी आवागमनमा अवरोध सिर्जना गर्ने नौ रात्रिकालीन बसलाई नियन्त्रणमा लियो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष जाँच अभियानका क्रममा बसहरूलाई नियन्त्रणमा लिइएको हो। उनले भने,, “हामीले नियन्त्रणमा लिइएका बसमध्ये केहीको बाटो इजाजत पत्र (रुट परमिट) को म्याद सकिएको दुई वर्षसम्म भएको देखिएको छ। यसबारे हामी यातायात व्यवस्था विभागसँगको समन्वयमा थप प्रक्रिया अगाडि बढाउने छौं।”

नियन्त्रणमा लिइएका ती नौ वटा बसलाई अहिले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा राखिएको छ। ती बसहरूले सडकमा अनावश्यक जाम सिर्जना गर्नुका साथै यात्रु तथा अन्य सवारी साधनलाई समेत असहज अवस्था उत्पन्न गराएको ट्राफिक प्रहरीले जनाइएको छ। 

लामो दूरीका रात्रिकालीन सेवा सञ्चालन गर्दै आएका ती बसहरूले बाटो इजाजत पत्र (रुट परमिट) अनुसार तोकिएको गन्तव्यसम्म नगई बाटोमै जथाभाबी पार्किङ गरेको पाइएपछि नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 

“रुट परमिट उल्लङ्घन गरी अव्यवस्थित रूपमा पार्किङ गर्दा सवारी आवागमनमा गम्भीर असर परिरहेको थियो,” उनले भने, “नियन्त्रणमा लिइएका बसलाई यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत दफा ७५ र दफा १६० अनुसार कारबाही गरिने छ।” 

बुधबार मात्रै ट्राफिक प्रहरीले जथाभाबी पार्किङ गरिएका लामो दुरीका १५ रात्रिकालीन बसहरूलाई नियन्त्रणमा लिएको थियो।

माघ २२, २०८२ बिहीबार १८:५५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।