झापा जानुअघि बालुवाटारमा ओलीका दुई घण्टा

झापा जानुअघि बालुवाटारमा ओलीका दुई घण्टा

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी र सुरक्षा चुनौतीका विषयमा छलफल भयो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको करिब दुई घण्टा लामो छलफल निर्वाचनलाई भयरहित वातावरणमा एकै चरणमा सम्पन्न गर्ने विषयमा केन्द्रित रह्यो। भेटमा ओलीले निर्वाचनका लागि आवश्यक सुरक्षा वातावरण अझै पूर्णरूपमा बनिनसकेको विषय दोहोराउँदै उठाए।

उनले निर्वाचन देशभर एकै चरणमा हुनुपर्ने र कुनै पनि बहानामा मतदान सार्ने वा ढिलाइ गर्ने कार्य हुन नहुने भनाई राखे। हिमाली जिल्लामा मौसमको कारण देखाउँदै निर्वाचन दुई चरणमा लैजान सकिने भनी प्रधानमन्त्री कार्कीले यसअघि दिएको अभिव्यक्तिप्रति ओलीले चासो राखे।

जवाफमा कार्कीले निर्वाचन सुरक्षाका लागि सेना परिचालन भइसकेकाले सुरक्षामा कुनै कमी हुन नदिने बताइन्। उनले सरकार तोकिएकै समयमा निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउन दृढ रहेको स्पष्ट पार्दै प्रतिकूल मौसमका कारण कतै समस्या आएमा मात्र स्थानीय स्तरमा प्राविधिक व्यवस्थापन गरिने बताइन्। कार्कीले निर्वाचनका क्रममा राजनीतिक दलहरूबीच सौहार्दपूर्ण प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिइन्।

ओलीले चुनावको लागि गृह जिल्ला झापा जानुअघि प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन्। उनको साथमा नेता विष्णु रिमाल पनि बालुवाटार पुगेका थिए। छलफलमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस सल्लाहकार राम रावलको समेत उपस्थिति थियो।

एमालेले यसअघि निर्वाचनभन्दा विघटित प्रतिनिधिसभाको पुनर्स्थापनामा जोड दिइरहेको थियो। उसले निर्वाचनको लागि आवश्यक वातावरण र सुरक्षाको विषयलाई निरन्तर उठाउँदै आएको छ।  

माघ २२, २०८२ बिहीबार १८:४१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।