राजनीतिक दलहरूको स्पष्टता र अडानमा ह्रास आएको ओलीको टिप्पणी
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले मुलुकको हित र समृद्धिको विशेष अभिभारा बोकेको पार्टी भएको बताएका छन्।
झापा-काठमाडौं सम्पर्क कमिटीद्वारा आयोजित निर्वाचन विशेष भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले अन्य राजनीतिक दलको तुलनामा वैचारिक र कार्यगत रूपमा पृथक् रहेको दाबी गरे।
ओलीले एमाले राष्ट्रियता, जिम्मेवारी र जबाफदेहिताप्रति बढी सजग रहेको उल्लेख गर्दै भने, “नेकपा एमाले विशेष अभिभारा बोकेको पार्टी हो। त्यो पूरा गर्नुपर्नेछ। अरू पाटी भन्दा यो पृथक् छ। यसको काममा राष्ट्रियता, जिम्मेवारी र जवाफदेही छ। त्यसकारण यो पार्टी अरू भन्दा पृथक् छ।”
उनले राजनीतिक दलहरूमा कार्यक्षमता र अडानमा ह्रास आएको दाबी गरे। “अरू पार्टी देशभक्त छैनन् वा लोकतान्त्रिक छैनन् भन्ने होइन, तर आजभोलि स्पष्टता, त्यसमा अड्न सक्ने क्षमता र कार्यान्वयन गर्ने शक्ति न्यून हुँदै गएको छ,” ओलीले भने।
देशको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनतालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण नै अहिलेको मुख्य आवश्यकता रहेको औँल्याए। उनले नेपालको मौलिक सामाजिक मूल्य-मान्यता, स्वतन्त्र राजनीतिक व्यवस्था र गौरवपूर्ण सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
‘देशलाई फेरि पनि सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र र स्वाधीन राष्ट्रको हैसियतमा कायम राखेर आत्मनिर्भर अर्थतन्त्र, स्वतन्त्र राजनीतिक आफ्नो मौलिक, सामाजिक मूल्यमान्यताहरू र हाम्रो गौरवपूर्ण संस्कृति यी चिजहरूलाई कायम राख्दै अगाडी बढ्नुपर्दछ,’ ओलीले भने।
माघ २२, २०८२ बिहीबार १५:०२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।