निर्वाचनका लागि स्रोतको कमी हुन दिइँदैन : अर्थमन्त्री खनाल

निर्वाचनका लागि स्रोतको कमी हुन दिइँदैन : अर्थमन्त्री खनाल

बागलुङ : अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचनका लागि आवश्यक स्रोतको कमी हुन नदिने बताएका छन्। निर्वाचनको तयारीका विषयमा स्थलगत अनुगमन गर्न बागलुङ आएका उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारले कुनै कमी नराख्ने प्रतिबद्धता गरे।

“निर्वाचन सफल बनाउन् सबैको कर्तव्य हो, सुरक्षा व्यवस्थादेखि आचारसंहिता कार्यान्वयन गर्नु/गराउनु हाम्रो दायित्व हो,” उनले भने, “सरकारले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन कुनै कमी राख्दैन। केही समस्या भए तुरुन्तै जानकारी भएमा समाधान हुनेछ, यसका लागि आपसी समन्वय र सहकार्य आवश्यक छ। नागरिकले मतदान सहज वातावरणमा गर्नुपर्यो।”

उनले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार भएका सबैलाई आग्रह गरे। नागरिकले भयरहित वातावरणमा मताधिकार प्रयोग गर्न पाउनेमा विश्वस्त रहन खनालले आग्रह गरे। उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमन गरेका थिए।

अनुगमनपछि खनालले जिल्लास्थित सुरक्षा समितिको बैठकमा निर्वाचनको समयमा दिइने सुरक्षा व्यवस्था, प्रहरी परिचालनलगायत विषयमा जानकारी लिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए। बागलुङकी मुख्य निर्वाचन अधिकारी सीता शर्मा अधिकारीले जिल्लामा भइरहेका शान्ति सुरक्षाको व्यवस्था, आचारसंहिता कार्यान्वयन र अहिलेसम्म भएका निर्वाचन तयारीका बारेमा अर्थमन्त्रीलाई जानकारी गराएकी थिइन्।

खनालले निर्वाचनको समयमा आउने गलत र भ्रामक सूचनालाई सम्पादन गरेर चनाखो भएर बस्न सुरक्षा निकायलाई निर्देशन दिए। 

दश स्थानीय तह र ८५ वटा वडा रहेको बागलुङमा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। बागलुङमा कूल एक लाख ९३ हजार ३८१ जना मतदाता छन्। दुई वटा प्रतिनिधिसभा सदस्यका लागि २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। 

माघ २२, २०८२ बिहीबार १४:४८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।