गुन्डा नाइके र हत्या आरोपीपछि ‘चल्ला तस्कर’लाई पनि दियो एमालेले टिकट

गुन्डा नाइके र हत्या आरोपीपछि ‘चल्ला तस्कर’लाई पनि दियो एमालेले टिकट

काठमाडौं : गुन्डा नाइके र गौर हत्याकाण्डको आरोपीलाई टिकट दिएर आफ्नो राजनीतिक शाख धुमिल्याएको एमालेले पुन: अर्का विवादित व्यक्तिलाई आगामी प्रतिनिधि सभा सदस्यको टिकट दिएको छ।

शनिबार बसेको सचिवालय बैठकले गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनलाई गोरखा-२ र गौर हत्याकाण्डका आरोपी अजय गुप्तालाई रौतहट-१ को टिकट दिएको एमालेले कुखुराको चल्ला तस्करीको आरोप लागेका पूर्वमन्त्री मोहम्मद इस्तियाक राईलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको हो।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपा नेपाल परित्याग गरी पार्टी प्रवेश गरेका राई र प्रदीप यादवलाई टिकट दिएका हुन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राईले बाँके क्षेत्र नम्बर २ बाट टिकट पाएका हुन्।

भन्सारमा समातिएको थियो राईको गाडी
२०८० भदौ ५ गते नेपालगन्ज भन्सार कार्यालयले भारतबाट अवैध रूपमा कुखुराको चल्ला तस्करी गरिरहेको अवस्थामा भे १ च ३५९७ नम्बरको गाडी नियन्त्रणमा लिएको थियो।

उक्त गाडी शिव पोल्ट्री फर्मको नाममा दर्ता रहेको र सो फर्म पूर्वमन्त्री राई र उनका भान्जा सारुक रजा राईको व्यावसायिक साझेदार रहेको समेत उकेराले खुलासा गरेको थियो।

भन्सार कार्यालयका अधिकारी र सुरक्षाकर्मीले समेत उक्त चल्ला तस्करीमा राई र उनका भान्जाको संलग्नता रहेको पुष्टि गरेका थिए।

भन्सार कार्यालयका अनुसार, सीमा सुरक्षा बलले समातेर बुझाएको उक्त गाडी र चल्ला छुटाउन कोही पनि नआएपछि मुद्दा विचाराधीन अवस्थामा छ।

राईको नेपालगन्ज बजारबाट पूर्वको मलाशाह चोकमा ६० हजार चल्ला अट्ने ‘रज्जक ग्रुप प्रालि’ नामक कुखुरा फर्म छ। व्यवसायीहरूका अनुसार उनले भारतीय र नेपाली चल्ला मिसाएर बेच्ने गरेका छन्।

बाँकेको जमुनाहा-रुपेडिया नाका कुखुरा तथा मासुजन्य पदार्थ तस्करीको प्रमुख ट्रान्जिट मानिन्छ।

व्यवसायीहरूका अनुसार भारतबाट वार्षिक करिब १५ अर्बको अवैध कुखुरा नेपाल भित्रिने गरेको छ। भारतमा उत्पादन लागत कम पर्ने भएकाले तस्करहरूले भन्सार छलेर कुखुरा नेपाल ल्याउने र नेपाली उत्पादन भन्दै बेच्ने गरेका छन्।

स्थानीय कुखुरा व्यवसायीहरूका अनुसार सुरक्षा निकायसँगको मिलेमतोमा तस्करी मौलाएको छ।

‘सेटिङ’ मिलाएर दिउँसै मुख्य नाकाबाट कुखुरा भित्र्याइने गरेको व्यवसायीहरूको गुनासो छ। यस्तो गम्भीर धन्दामा मुछिएका व्यक्तिलाई एमालेले टिकट दिएपछि पार्टीको निर्णयप्रति प्रश्न उठेको छ।

२०६४ सालअघि राईको मुख्य पेसा भारतबाट भैँसी ल्याएर नेपालमा बेच्नु थियो। पछि उनी मधेश आन्दोलनको रापतापमा राजनीतिमा होमिएका थिए।

तत्कालीन मधेशी जनअधिकार फोरमबाट राजनीति सुरू गरेका उनी २०६४ मा संविधानसभा सदस्य र २०७४ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भए। उनी श्रम, सहरी विकास र भौतिक पूर्वाधार मन्त्री समेत बनिसकेका छन्।

२०७९ को निर्वाचनमा भने उनी राप्रपाका धवलशमशेर राणासँग पराजित भएका थिए। राणाले २९ हजार ५७७ मत ल्याउँदा राईले २३ हजार ५२० मत पाएका थिए।

माघ ५, २०८२ सोमबार १४:३६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।