अशोक दर्जी र छोरा एआरलाई लिएर फिल्म ‘बा-आमा’ बनाउँदै टंक बुढाथोकी
काठमाडौं : पहिलो फिल्म ‘मनबिनाको धन’ रिलिज ताका ‘दोस्रो फिल्म तत्काल नबनाउने’ घोषणा गरेका गायक तथा संगीतकार टंक बुढाथोकी अन्ततः फिल्म निर्माणमै फर्किएका छन्।
पहिलो फिल्मले बक्स अफिसमा करिब चार करोड रुपैयाँ हाराहारीको ग्रस कलेक्सन गरेर व्यावसायिक सफलता हात पारेपछि हौसिएका बुढाथोकीले आफ्नो दोस्रो प्रोजेक्टका रूपमा ‘बा-आमा’ निर्माणको घोषणा गरेका हुन्।
हालै चलचित्र विकास बोर्डमा दर्ता भएको यो फिल्मका लागि टंकले मुख्य दुई कलाकारसमेत पक्का गरिसकेका छन्।
‘मनबिनाको धन’ मार्फत रजतपटमा देखिएका चर्चित बालगायक अशोक दर्जी र टंककै छोरा एआर बुढाथोकीलाई नै उनले यस फिल्ममा पनि निरन्तरता दिने भएका छन्। अन्य कलाकारहरूको छनोट प्रक्रिया भने बाँकी रहेको बुढाथोकीले जानकारी दिए।
निर्देशक बुढाथोकीकै मूल कथामा बन्न लागेको फिल्मको पटकथा तथा संवाद अनुभवी लेखक शिवम् अधिकारीले तयार पारिरहेका छन्। बुढाथोकीका अनुसार स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ।
‘स्क्रिप्ट लगभग सकिन लागेको छ, आगामी वैशाखदेखि छायाङ्कन सुरु गर्ने योजनासहित हामी तयारीमा जुटेका छौँ’, उनले भने।
केही वर्षअघि टंकले ल्याएको ‘बा-आमा’ बोलको गीत निकै चर्चित भएको थियो । सोही गीतको लोकप्रियतालाई ‘क्यास’ गर्न उनले फिल्मको नाम पनि जुराएको अनुमान गरिएको छ।
टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा बन्न लागेको यस फिल्ममा विष्णुमाया मैनालीको लगानी रहनेछ।
पुष १९, २०८२ शनिबार १२:३०:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।