‘हामी तीन भाई’को पोस्टरमा विनोद, फलित र कुशल

‘हामी तीन भाई’को पोस्टरमा विनोद, फलित र कुशल

काठमाडौं : मधुसुदन भट्टराईको निर्देशनमा बनेको आगामी चैत १३ गते प्रदर्शन हुने फिल्म ‘हामी तीन भाई’को पोस्टरमा तीन पात्र देखिएका छन्।

निर्माण पक्षले बुधबार सार्वजनिक गरेको फिल्मको फर्स्ट लुक पोस्टरमा मुख्य तीन पात्र विनोद न्यौपाने, फलित राई र कुशल विष्टलाई स्थान दिइएको छ।

पोस्टरमा उनीहरूलाई निकै खुसी र रोमान्टिक मुडमा आकाशतिर हेर्दै गरेको देखाइएको छ भने एउटा भाले उडिरहेको रोचक दृश्य पनि समेटिएको छ।

प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा विनोद, फलित र कुशलका अलावा लक्ष्मी बर्देवा, आश्मा गिरी, जाहन्वी बस्नेत, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाँइ, सुष्मा निरौला, यादव देवकोटा (सरापे) लगायतका कलाकारको अभिनय छ।

साजित महत प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् भने कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्। फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।

दुई दशकअघि स्वर्गीय शिव रेग्मीको निर्देशनमा बनेको सोही नामको फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो।

निर्देशक भट्टराईले पुरानो चर्चित नाम सापटी लिएर बनाएको यो नयाँ फिल्मले दर्शकको कस्तो साथ पाउँछ, त्यो भने हेर्न बाँकी छ।

पुष १६, २०८२ बुधबार १४:२३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।