असममा ११ बंगलादेशी चरमपन्थी पक्राउ, सामाजिक सञ्जालमार्फत युवा भर्ती गर्ने योजना विफल
एजेन्सी : भारतको असम प्रहरीको स्पेशल टास्क फोर्स (एसटीएफ)ले बंगलादेशको प्रतिबन्धित चरमपन्थी समूह ‘इमाम महमूदुर काफिला’ (आईएमके)का ११ जना सदस्यलाई पक्राउ गरेको छ।
एसटीएफ प्रमुख एवं गुवाहाटीका पुलिस कमिश्नर पार्थ सारथी महन्तले दिएको जानकारी अनुसार, आईएमके बंगलादेशको प्रतिबन्धित संगठन जमात-उल-मुजाहिदीन (जेएमबी)को एउटा शाखा हो, जसको गठन २०१८ मा भएको थियो।
प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरू असम र आसपासका राज्यहरूमा युवाहरूलाई कट्टरपन्थी बनाउने र संगठनमा भर्ती गर्ने काममा सक्रिय थिए। उनीहरूले आफ्नो प्रोपोगान्डा फैलाउन, हवाला वा यूपीआईमार्फत रकम जुटाउन र तालिमका लागि सीमा पार गराउन विभिन्न ‘इन्क्रिप्टेड’ (सुरक्षित) सामाजिक सञ्जाल समूहहरूको प्रयोग गरिरहेका थिए।
अनुसन्धानबाट खुलेको छ कि, गत अगस्ट २०२४ मा बंगलादेशमा सत्ता परिवर्तन भएपछि जेएमबी, अन्सारुल्लाह बांग्ला टिम (एबीटी) र अल-कायदा इन द इन्डियन सब कन्टिनेन्ट (एक्यूआईएस) का शीर्ष नेताहरूले आईएमकेलाई आफ्नो भारतीय सञ्जाल सक्रिय बनाउन र विस्तार गर्न निर्देशन दिएका थिए।
प्रहरीले बारपेटा जिल्लाबाट नसीम उद्दीन (२४), मिजानुर रहमान (४६), सुल्तान महमूद (४०), सिद्दीक अली (४६), शाहरुख हुसैन (२२) र दिलबर रजाक (२६) लाई पक्राउ गरेको छ।
त्यस्तै, बाक्सा जिल्लाबाट राशिदुल आलम (२८) र महिबुल खान (२५), चिराङबाट जुनाब अली (३८), दराङबाट अफरहिम हुसैन (२४) र त्रिपुराबाट जागीर मियाँ (३३) पक्राउ परेका छन्।
उनीहरूमाथि भारतीय न्याय संहिता (बीएनएस) २०२३ र गैरकानुनी गतिविधि रोकथाम ऐन (यूएपीए) १९६७ अन्तर्गत मुद्दा चलाइएको छ।
पुष १६, २०८२ बुधबार ११:५०:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।