खरिद मिलेमतोमा निरन्तर जोडिने डा मरासिनीबारे स्वास्थ्यमन्त्रीले भनिन् “उहाँले त सरकारको पैसा जोगाउनु भएको रहेछ”
काठमाडौं : २२ करोडमा आउने एमआरआई मेसिन निश्चित कम्पनीको सप्लायर्ससँग मिलेर ३० करोडमा किन्ने योजनामा संलग्न, जसका लागि किनेको हो उसैले काम लाग्दैन भनेर नलिएको २४ करोडको पोर्टेबल युएसजी खरिदमा प्रत्यक्ष संलग्न डा रुद्र मरासिनीलाई सुशासन दिने भन्दै बनेको सरकारको स्वास्थ्यमन्त्री डा सुधा शर्माले ट्रमा सेन्टरको निर्देशकमा नियुक्त गरिन्।
मन्त्रीको कार्यभार सम्हाल्दा स्वास्थ्यमा खरिद भ्रष्टाचार भएको विषय जगजाहेर भए पनि खरिद भ्रष्टाचारको विषय सुन्न नपरोस् भनेकी स्वास्थ्यमन्त्री शर्माले व्यवहारमा भने खरिद अनियमिततामा निरन्तर मुछिने, मेडिकल उपकरणका निश्चित सप्लायर्सहरुसँग मिलेर राज्य कोषमा अनियमितता गर्न संलग्न देखिएका डा मरासिनी छनौटमा परे।
यस अगाडि ट्रमाको निर्देशकहुँदा उनले गरेका अधिकांश खरिद विवादित बने नै मिलेमतोको खुलासापछि मन्त्रीले नै हस्तक्षेप गरेर खरिद प्रक्रिया नै रद्द गर्नुपर्यो। स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा रहँदा २४ करोड ६५ लाख ३७ हजार रुपैयाँमा लुम्बिनी हेल्थ केयर प्रालिमार्फत खरिद गरेको ‘पोर्टेबल युएसजी’ मेसिन होस् या क्लिनिक इन द ब्यागलगायतका खरिद हुन् ती सबैमा आवश्यकता भन्दा निश्चित सप्लार्यसको स्वार्थमा खरिद भएका थिए।
तर मन्त्री उल्टो डा मरासिनीको बचाउमा उत्रिइन्। यस्ता बदनाम पात्रलाई जेनजीको सुशासन र भ्रष्टाचार नियन्त्रणको मागमा भएको आन्दोलनको बलमा मन्त्री बनेकी सुधाले ट्रमाको नेतृत्वमा ल्याइन्। किन? मन्त्री शर्मासँग उकेराकर्मी उपेन्द्र खड्काले गरेको कुराकानी:
राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी (डा. रुद्र मरासिनीलाई) दिनुभएको हो?
हो हो. डा. रुद्र मरासिनीलाई दिएको हो।
उहाँको त खरिदमा सधैँ विवादित हुनुहुन्छ? हजुर त जेनजी आन्दोलनपछि आउनु भएको सुशासन गर्नुपर्ने मन्त्री। यस्ता पात्र किन छान्नु भयो?
विवादित हुनु र बदमासी गर्नुमा फरक छ नि भाइ। उहाँ (डा. रुद्र मरासिनी)लाई विवादितचाहिँ बनाइएको रहेछ। तर, मैले सबै उहाँको रेकर्डहरू हेरेँ। अल्ट्रासाउन्ड खरिददेखि लिएर विभिन्न मोड्युलर ओटीका कुराहरू मैले हेरेँ। त्यो सबै हेर्दाखेरि ओटी (मोड्युलर ओटी) मा त उहाँले नेपाल सरकारको पैसा बचत नै गर्नु भएको रहेछ।
अल्ट्रासाउन्डको पनि उहाँको मुद्दा परेर पनि अख्तियारले तामेलीमा राखिसकेको रहेछ। र, सबै त्यो फाइलहरू झिकाएर मैले हेरेर अनि सबै कुराको बिचार गरेर मैले त्यहाँ (ट्रमामा) भएको मध्येमा ‘सिनियर मष्ट’ उहाँ नै हो। निमित्त उहाँले नै गरिरहनु भएका रहेछ। अनि उहाँलाई नै दिनु उपयुक्त लागेर दिएको हो।
यस अघि उहाँले गर्नुभएको एमआरआईको खरिद (टेन्डर)मा त अनियमितता भयो भनेर हस्तक्षेप गरेरै रद्द गर्नु परेको जानकारी होला नि!
त्यसमा उहाँले जति पैसामा किन्छु भन्नु भएको थियो त्यो भन्दा बढी पैसामा भरतपुर (अस्पताल)ले, अरू अस्पतालले पनि किनेका रहेछन्। मैले त्यो पनि बुझेर हेरेँ।
डा. मरासिनीको (खरिद अनियमितता लगायतको) विषयमा उजुरी पर्यो भने छानबिन गर्नुहुन्छ की गर्नुहुन्न?
हैन, कस्तो कुरा पर्यो भने भेरीफाइ गरेर त्यसमा प्रमाण नदेखेर मैले उहाँलाई नियुक्ति गरेँ। छानबिन गर्ने निकाय त छ नि हाम्रो अख्तियारहरू छ। अदालतहरू छ। विभिन्न छानबिन गर्ने निकायहरू छन्।
तत्कालका लागि त्यहाँ (ट्रमा सेन्टरमा) भएकोमध्ये ‘सिनियर मष्ट’ डाक्टर र त्यस्तो गम्भीर विषय पनि देखिएन। त्यसकारण अहिले अब ‘गोइङ फरवार्ड’। तपाईँलाई थाहा छँदैछ। खरिद प्रक्रियालाई एकदम ‘ट्रान्सप्यारेन्ट बनाउनलाई भनेर कार्यदल नै राखेर पूरा यो वर्षको खरिदको गृहकार्य गरिनै राखेको छु।
त्यसैकारण उहाँ (डा. मरासिनी) एक्लैले खरिद गर्ने भन्ने विषय आउँदैन अब। ‘गोइङ फरवार्ड’लाई हामीले ‘प्रोटेक्शन’मा राखिसक्यौँ। ‘गोइङ ब्याकवर्ड’लाई तपाईँले भन्नु भएका कुराहरू सबै मैले नियालेर हेर्दाखेरि त्यसमा तामेली नै भइसकेको, नदेखिएको विषयहरू देखिएपछि त अब ‘सिनियर मष्ट’ डाक्टरलाई रोक्ने कुरा भएन नि।
सम्बन्धित समाचार
पुष १४, २०८२ सोमबार २०:१२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।