काठमाडौं ओर्लिएपछि रविको गर्जन : 'धराशायी संरचना र कुल्चिएका सपनाको हिसाब खोज्नुपर्छ'

काठमाडौं ओर्लिएपछि रविको गर्जन : 'धराशायी संरचना र कुल्चिएका सपनाको हिसाब खोज्नुपर्छ'

काठमाडौं : सहकारी ठगी प्रकरणमा पक्राउ परेर हालै धरौटीमा थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौं आइपुगेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बाहिर उनलाई स्वागत गर्न रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूको ठूलो भीड जम्मा भएको थियो। विमानस्थलबाट बाहिरिने क्रममा समर्थकहरूले नाराबाजी गर्दै लामिछानेको भव्य स्वागत गरेका थिए।

विमानस्थलमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै लामिछानेले आफ्नो न्यायको लडाइँ अझै बाँकी रहेको बताए। उनले आफूले यसलाई विजयका रूपमा नलिएको स्पष्ट पार्दै भने, ‘न्यायको लडाइँ बाँकी नै छ। मैले यो विजयको कुरा गरेको होइन। म लड्नका लागि नै जन्मिएको मान्छे हुँ। म एउटा चुनावका लागि राजनीतिमा आएको होइन, एउटा पुस्ताका लागि राजनीतिमा आएको हुँ।’

उनले देशका संरचना र नागरिकका सपना धराशायी भएको उल्लेख गर्दै त्यसको हिसाब खोज्नुपर्ने बताए। ‘देशका संरचनाहरू खरानी भएका छन्, हाम्रा सपनाहरू खरानी भएका छन्। त्यसको हिसाब कसले गर्ने ? ती सपना पूरा गर्न सबै मिल्न जरुरी छ। यिनीहरूलाई हराउन मात्र होइन, देशलाई जिताउन सक्नुपर्छ,’ उनले भने।

पुष ५, २०८२ शनिबार १६:३६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।