थुनामुक्त भएपछि चितवनमा रविको गर्जन- ‘मलाई सिध्याउन हालिएको विष बोकेरै लड्छु, भ्रष्टाचारीको महल ढाल्न सांसद पद चाहिँदैन’

थुनामुक्त भएपछि चितवनमा रविको गर्जन- ‘मलाई सिध्याउन हालिएको विष बोकेरै लड्छु, भ्रष्टाचारीको महल ढाल्न सांसद पद चाहिँदैन’

काठमाडौं : सहकारी ठगी प्रकरणमा थुनामुक्त भए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवनको भरतपुरस्थित चौबीसकोटीमा भेला भएका आफ्ना समर्थकलाई सम्बोधन गरे। शनिबार बिहान उनी गाडीको छतमा उभिएर समर्थकका बीच भावुक अनि आक्रामक रूपमा प्रस्तुत भए।

बिहीबार बुटवलको उच्च अदालतको आदेशपछि शुक्रबार रिहा भएका लामिछानेले आफ्नो रिहाइपछिको पहिलो सार्वजनिक मन्तव्यमा राज्यसत्ता र पुराना दलहरूप्रति कडा आक्रोश पोखे। उनले आफूलाई सिध्याउन षड्यन्त्र भएको दाबी गर्दै शरीरमा हालिएको ‘विष’ बोकेरै भए पनि लड्ने उद्घोष गरे।

गाडीको छतबाट सम्बोधन गर्दै लामिछानेले भने, ‘ममाथि निकै तरबारहरू छन्। मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा छैन, तर तिनले मेरो शरीरमा हालिदिएको विष बोकेर म आज पनि बाँचेको छु। म यो विष लिएरै पनि लड्छु, शरीरमा एक थोपा रगत रहुन्जेल लड्छु।’

उनले चितवनलाई ‘न्याय दिने थलो’ को संज्ञा दिँदै २/४ वटा झुटा मुद्दाले आफूलाई गलाउन नसक्ने बताए।

‘मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्थ भएर हेलिकप्टरमा झुन्डिएर भागे पनि तिनले झुन्ड्याइदिएको मुद्दा यो शरीरमा बोकेर बाँचेको छु, तर मलाई केही फरक पर्दैन’, उनले भने।

‘भ्रष्टाचारीको महल ढाल्न रविलाई पद चाहिँदैन’
लामिछानेले आफूलाई अनागरिक बनाइएको र संसदबाट बाहिर निकालिएको प्रसङ्ग कोट्याउँदै जनताको मनबाट निकाल्न चुनौती दिए।

उनले भने, ‘जिते पनि सांसद हुन पाउँदैन, मन्त्री हुन पाउँदैन भन्नेहरूलाई भन्न चाहन्छु- म मान्छे हुन त पाउँछु नि! मान्छे मात्र रहेछु भने पनि भ्रष्टाचारीको महल खरानी बनाउन रवि लामिछाने एक्लै पर्याप्त छ।’

सम्बोधनका क्रममा लामिछानेले जेन-जी आन्दोलन र चितवनले सुरु गरेको ‘निलो क्रान्ति’ को खुलेर प्रशंसा गरे। उनले जेन्जीको रगतको एक थोपा पनि खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे।

‘हामीले फूल बोकेर निलो क्रान्ति सुरू गर्यौं, कसैको सिउँदो पुछिएन, कसैको काख रित्तिएन। तर यिनले टेरेनन्, यिनले लातको भूत सम्झिए’, उनले भने।

उनले सरकारलाई जेन-जीको माग सम्बोधन गर्न र सुशासन कायम गर्न चुनौती दिँदै त्यसो भएमा मात्र साथ दिने, नत्र निर्वाचनको विकल्प नरहेको बताए।

आगामी निर्वाचनको संकेत गर्दै लामिछानेले अब भोट बाँड्ने काम नगर्न मतदातालाई आग्रह गरे।

उनले भने, ‘अब भोट बाँडेर दिने काम नगर्नुहोला। कि मलाई र मेरो पार्टीलाई ‘जिरो’ बनाइदिनुस्, होइन भने एकपटक यिनीहरू (पुराना दल) लाई ‘जिरो’ पारेर हेरौँ, बल्ल देश ‘हिरो’ हुन्छ।’

सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने शुक्रबार साँझ मात्र थुनामुक्त भएका हुन्। बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो।

चितवनको कार्यक्रम सकेर उनी आजै काठमाडौं फर्कने र ‘जेन-जी’ आन्दोलनका घाइते तथा सहिद परिवारलाई भेट्ने कार्यक्रम रहेको छ।

पुष ५, २०८२ शनिबार १४:०९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।