रवि लामिछाने आज काठमाडौं फर्कँदै, भरतपुरमा सम्बोधनपछि सहिद परिवार भेट्ने
काठमाडौं : सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालतबाट धरौटीमा रिहा हुने आदेश पाएपछि हिजो थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज काठमाडौं फर्कँदै छन्।
पार्टी प्रवक्ता मनिषा झाका अनुसार लामिछानेले आज बिहान ११ बजे चितवनको भरतपुरस्थित चौबीसकोटीमा आयोजित सभालाई संक्षिप्त सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधन लगत्तै उनी आजै दिउँसो १:५० बजेको बुद्ध एयरको विमानमार्फत काठमाडौं आउनेछन्।
काठमाडौं आएलगत्तै सभापति लामिछानेले जेन-जी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूलाई भेट्ने कार्यक्रम तय भएको छ। त्यस्तै, भोलि दिउँसो ३ बजे लामिछानेलाई वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टी घरमा स्वागत गर्ने कार्यक्रम रहेको प्रवक्ता झाले जानकारी दिइन्।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशबमोजिम २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएर लामिछाने बिहीबार साँझ रुपन्देही कारागारबाट रिहा भएका हुन्। सुरुमा रुपन्देही ल्याइएका उनी नख्खु कारागारमा थिए, तर पछि आफ्नै मागअनुसार उनलाई रुपन्देही सारिएको थियो।
रिहा भएसँगै रास्वपाका नेता तथा कार्यकर्ताहरूले कारागार बाहिर नाराबाजी गर्दै खुसीयाली मनाएका थिए। लामिछाने हिजो साँझ काठमाडौंबाट हवाईमार्ग हुँदै भरतपुर र त्यहाँबाट सडकमार्ग भएर रुपन्देही पुगेका थिए।
बुधबार न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्ने आदेश बदर गर्दै लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको थियो।
अदालतले उनलाई सुप्रिम सहकारीबाट प्रवाह भएको बिगोको दामासाही हिस्सा बराबरको रकम बैंक ग्यारेन्टी माग गरेको थियो।
अदालतले लामिछानेलाई ५ वटा शर्तसहित रिहा गरेको छ। जसमा व्यक्तिगत वा संस्थागत रूपमा विदेश भ्रमणमा जानुपरेमा अदालतको पूर्व अनुमति लिनुपर्ने, तोकिएको बैंक ग्यारेन्टी सुरक्षित राख्नुपर्ने र अन्तिम फैसला हुँदा ठहरे बमोजिम हुने उल्लेख छ।
सोही इजलासले अर्का प्रतिवादी छविलाल जोशीको हकमा भने तत्काल कुनै रिहाइको आदेश दिएन। जोशीको हकमा जिल्ला अदालतकै आदेश सदर भएको देखिन्छ।
पुष ५, २०८२ शनिबार ०७:३६:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।