स्थापनाको ६७ वर्षपछि जिल्ला अस्पतालमा पहिलो शल्यक्रिया
ओखलढुङ्गा : यहाँको रुम्जाटारस्थित जिल्ला अस्पतालमा अस्पताल स्थापना भएको ६७ वर्षपछि पहिलो पटक बिरामीको शल्यक्रिया गरिएको छ। बुधबार बेलुकी चिसङ्खुगढी गाउँपालिकाकी अस्मिता विश्वकर्माको डा सञ्जय पोखरेल नेतृत्वको टोलीले ‘एपेन्डिक्स’को सफल शल्यक्रिया गरेको हो।
डा पोखरेलले सो अस्पतालमा नियुक्त भएको चार महिना मात्र भएको छ। यसअघि एमबिबिएस डाक्टरहरूले सेवा दिँदै आएका थिए। अहिले एक जना एमडीजिपी, दुई एमबिबिएस, एक एनेस्थेसिया, दुई ओटी नर्सलगायत अन्य प्राविधिक कर्मचारी कार्यरत रहेको अस्पतालले जनाएको छ।
बुधबार अपराह्न ४ बजे चिसङ्खुगढी गाउँपालिका-४ रातमाटेकी १७ वर्षीय अस्मिता विश्वकर्मा उपचारका लागि अस्पताल आएकी थिइन्। ‘एपेन्डिक्स’ भएर आएकी विकको तत्काल सफल शल्यक्रिया गरिएको डा पोखरेलले जानकारी दिए। लामो समयसम्म विशेषज्ञ डाक्टरको अभावमा अस्पतालमा सामान्य उपचार मात्र हुँदै आएको थियो।
यहाँ हाल दैनिक औसतमा ७५ जना बिरामी उपचारका लागि आउँछन्। दरबन्दी भए पनि सरकारले अस्पतालमा डाक्टर पठाएको थिएन। मन्त्रालयमा पटक पटक डाक्टर पठाइदिन आग्रह गर्दा पनि विशेषज्ञ डाक्टर नपठाएपछि डाक्टर खोजेर ल्याएको जिल्ला समन्वय समिति प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकराज भट्टराईले बताए।
डाक्टरलाई एक सहकारीबाट तीन लाख ऋण लिएर एक महिनाको तलब दिएको प्रमुख भट्टराईले बताए। हालै स्वास्थ्य मन्त्रालय कोशी प्रदेशले विज्ञापन खुलाएकाले डाक्टर व्यवस्थापन गर्न सजिलो हुने भट्टराईको भनाइ छ।
तीन जिल्लालाई सेवा दिने गरी स्थापना भएको रम्जाटार अस्पताल २०१५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको थियो। रुम्जाटार स्वास्थ्य केन्द्रले ओखलढुङ्गा, सोलु र खोटाङका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको थियो।
तीन जिल्लाका शव परीक्षण (पोष्टमार्टम) रुम्जाटारमा मात्र गरिँदै आएको थियो। अन्य जिल्लामा पनि जिल्ला अस्पताल स्थापना भएपछि शव परीक्षणलगायतका लागि आउने क्रम समेत रोकिएको थियो। हालै शल्यक्रियासहितको उपचार सेवा अस्पतालले दिन थालेपछि स्थानीयले खुसी व्यक्त गरेका छन्।
मंसिर १९, २०८२ शुक्रबार २२:१०:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।