एनजिओसँग मिलेर दिवा खाजामा टोखा र बुढानीलकण्ठ नगरपालिकाको बदमासी, भाँडाको नाममा ३६ लाख खर्च

काठमाडौं : अवैध रूपमा टोखा र बुढानीलकण्ठ नगरपालिकाबाट दिवा खाजा बापतको रकम लिएको फुड फर लाइफ संस्थाले खाजाको लागि आवश्यक पर्ने भन्दै ३६ लाखको भाँडा समेत किन्न लगाएको खुलेको छ।
सो संस्थाले दुवै नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि सरकारले दिने दिवा खाजा बापतको रकम अवैध रूपमा लिने गरेका छन्। यसबारे उकेराले यस अगाडि नै प्रमाणसहित विस्तृत समाचार प्रकाशित गरिसकेको छ। उकेराको खोजमा खरिद प्रक्रिया नाघेर ३६ लाखको भाँडा समेत किन्न लगाएको खुलेको हो।
लगभग चार घण्टाको लागि खाना/खाजा तातो राख्ने भनेर किनिएका भाँडाहरू आधा विद्यालयमा र आधा संस्थामा राख्ने गरिएको छ। यसका लागि बुढानीलकण्ठ नगरपालिकाले मात्र १८ लाख रुपैयाँ खर्च गरेको छ।
'गत वर्ष हामीले खाजा तातो बनाउन भनेर सबै विद्यालयहरूलाई १८ लाखको कन्टेनर उपलब्ध गरायौँ,’ शिक्षा शाखाकी अधिकृत अनिता खनालले उकेरालाई जानकारी दिइन्।
उनका अनुसार नगरपालिकाको सबै सामुदायिक विद्यालयमा यो भाडाको व्यवस्थापन छ । तर उकेराको खोजमा संस्थासँग नजोडिएको सामुदायिक विद्यालयलाई सो भाँडा दिइएको छैन।
त्यस्तै टोखा नगरपालिकाले पनि १८ लाख बराबरको उस्तै भाँडाहरू विद्यालयको लागि भनेर संस्थाको प्रयोजनको लागि किनेको छ।
'दुई सय ४० वटा भाडामा १४० वटा जति स्कुलमै रहन्छन्। अर्को संस्थाले खाजा ल्याउन लाने गर्छ,’ टोखाको शिक्षा प्रमुख बाबुराम गौतमले भने ।
उनले पनि सबै सामुदायिक विद्यालयको लागि कन्टेनर किनेको दाबी गरे । तर यही नगरपालिकाको एउटा सामुदायिक विद्यालयले उक्त संस्थासँग नजोडिएको कारण भाँडा पाएको छैन। दुवै नगरपालिकाले संस्थाले प्रयोग गर्ने प्रयोजनका लागि ३६ लाख खर्च गरेर भाँडा किनेको देखियो।
१० लाख माथिको खरिदमा कोटेसन विधि अपनाएर किन्नु पर्नेमा यो खरिदमा सो प्रक्रिया समेत पुरा गरेको देखिएन। नगरपालिकाले संस्थाले मागे अनुसार रकम दिएको र उनीहरूले भारतबाट सामान किनेर ल्याएको देखियो।
'पहिला उनीहरूले भनेको ठाउँबाटै भाडा किन्ने भनेपछि फसिन्छ यस्तो नगरौँ भन्ने कुरा भएको थियो। तर अहिले किनिसकेछन् !,' स्रोतले उकेरालाई भन्यो।
फुड फर लाइफले दुई नगरपालिकाको गरेर २६ वटा विद्यालयका विद्यार्थीका लागि दिवा खाजा भनेर नगरपालिकामार्फत विद्यालयबाट पैसा लिने गरेको छ। दुवै नगरपालिकाबाट यसका लागि वार्षिक दुई करोड बढी रकम खर्च हुने गरेको छ। तर यसरी सरकारी रकमबाट खुवाउने खाजाको जिम्मा दिँदा सार्वजनिक रूपमा प्रतिस्पर्धा गराइएको छैन।
संस्थाले आर्थिक अवस्था न्यून भएका विध्यार्थीहरुलाई खाजा खुवाउने भनेर विदेशी संस्थाहरूबाट समेत सहयोग रकम लिने गरेको छ। तर ती रकम कहाँ खर्च हुन्छ भनेर संस्थाका पदाधिकारीहरूले खुलाएका छैनन्। उकेराले यसबारे संस्थामा लिखित रूपमा जानकारी माग गर्दा समेत उपलब्ध गराइएको छैन।
दुई सामुदायिक विद्यालय छुट्टिए
'शिक्षालाई खानाद्वारा प्रवर्धन गर्नु'भनेको संस्थाले आफूलाई गैर-लाभकारी भनेको छ। तर सरकारले यी दुई नगरपालिकाको दुई वटा सामुदायिक विद्यालयमा भने घाटा हुने भनेर उनीहरूले खाजा दिएका छैनन्।
बूढानीलकण्ठको श्री वाल विकास समाज आधारभूत विद्यालय र टोखाको श्री चुनदेवी सामुदायिक प्राथमिक विद्यालयका विद्यार्थीलाई फुड फर लाइफले खाजा दिने गरेको छैन। दुवै विद्यालय गरेर करिब डेढ सय विद्यार्थी छन्।
विद्यार्थी थोरै हुनु अनि विद्यालय मुख्य सडकबाट धेरै टाढा भएकाले संस्थाले अन्य २६ विद्यालयका विद्यार्थीलाई सरकारी रकमबाट खाजा खुवाए पनि यी दुवै विद्यालयमा भने खाजा खुवाउने गरेको छैन।
बाल विकासका प्रधानाध्यापक दोर्जे तामाङले स्कुल धेरै माथि गाउँमै रहेको र भौतिक हिसाबले टाढा रहेको, खाना बोकेर आउन थप मानव स्रोत चाहिने भएपछि सो संस्था नजोडिएको बताए।
संस्थाले आफ्नो विद्यालयको नाम नै तोकेर यो विद्यालय बाहेक भनेपछि आफैले पनि संस्थालाई ठेक्का दिन नचाहेको उनले बताए। अहिले विद्यालय आफैले व्यवस्थापन गरेर खाजा खुवाइरहेको छ। विद्यार्थीको खाजा राख्न भनेर १८ लाख खर्च गरेर किनेको भाँडा यो विद्यालयमा आइपुगेको छैन। खाजाका लागि विद्यालयकै आन्तरिक स्रोतबाट २५ हजारको सामान किनेको उनले बताए।
त्यस्तै टोखाको चुनदेवी त त्यति टाढा छैन। तर त्यहाँ थोरै विद्यार्थी छन्। विद्यार्थीको संख्या थोरै भएकाले संस्थाले चासो नदिएको र नगरपालिकाले खाजाको भाँडा पनि नदिएको प्रधानाध्यापक राजेश श्रेष्ठले बताए।
'हाम्रोमा ५०/५५ जना विद्यार्थी मात्र छन्। नगरपालिकाले जम्मा १ सय ८० दिनको मात्र रकम दिने हो। हाम्रो लगभग ३१० दिन जति विद्यालय सञ्चालन हुने गर्छ,’ उनले भने। उनले भाँडा समेत नपाएको बताए।
‘४ घण्टा सम्म खाजा तातो हुने भाँडा छ भने त हामीलाई पनि दिए हुन्थ्यो,’ उनले भने, ‘हाम्रोमा त्यति धेरै पनि चाहिँदैन।’
विद्यालयसँग जोडिन संस्थाको रणनीति
संस्थाले सुरुको दिनमा 'मीठो परिकार'को खाजा खुवाएर विद्यार्थीहरूलाई आकर्षित गरे जस्तै केही विद्यालयलाई भने भाँडाहरू समेत उपलब्ध गराएको रहेछ ।
सम्झौता हुनु अघि सम्म कचौरा र चम्चा समेत उपलब्ध गराएको संस्थाले आधिकारिक रूपमा सम्झौता गरिसके पछि भने आफै भाडा ल्याउन भनेको रहेछ ।
टोखाको तिलिंगाटार माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोज कुमार पाण्डेका अनुसार पहिला संस्थाले भ्याटविनाको बिल दिने गरेको थियो। अहिले भने भ्याट समेत जोडेर बिल काट्ने गरेको छ।
तुलनात्मक रूपमा धेरै विद्यार्थी भएको यस विद्यालयमा नगरपालिकाले दिवा खाजाको लागि वार्षिक १५ लाख बढी रकम निकासा गर्ने गरेको खुल्यो।
पाण्डेका अनुसार संस्थासँग जोड्ने काम नगरपालिकाले नै गरेको थियो। सम्झौता पनि नगरपालिकाले नै गर्ने तयारी गरेको थियो। तर पछि टोखाको सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई फुड फर लाइफसँग सम्झौता गराएको उनले बताए। पहिला विद्यालयहरूले एक महिनाको लागि भनेर सम्झौता गरेका थिए। पछि वार्षिक रूपमा सम्झौता गरे।
संस्थासँग अनिवार्य जोडिन विद्यालयहरूमा ‘सम्झौता नगरे नगरपालिकाबाट दिवा खाजाको पैसा आउँदैन’ भनेर तर्साएको समेत देखियो।
कपन गुम्बा नजिकै रहेको श्री ग्राम शिक्षा माध्यमिक विद्यालयले २०८१ साल देखि मात्र फुड फर लाइफलाई खाजा ठेक्कामा दिएको हो। नगरपालिकाको लगभग सबै विद्यालयले ठेक्कामा दिएको र त्यहाँ ठेक्का नदिए पैसा न आउने सुनेपछि आफूले पनि सम्झौता गरेको सो विद्यालयका प्रधानाध्यापक रुद्र कोइरालाले बताए।
‘हामीले सम्झौता गरेको धेरै भएको छैन । हामीले खुवाएनौ भने नगरपालिका पैसा दिँदैन भन्ने भयो। त्यही भएर सम्झौता गरेको हो,' उनले उकेरासँग भने।
अहिले पनि एक देखि आठ कक्षासम्मका विद्यार्थीलाई सो संस्थाले पैसा लिएर खाजा खुवाउने गरेको र ९ र दश कक्षाका विद्यार्थीका लागि विद्यालयकै क्यान्टिनले खुवाउने गरेको खुल्यो।
फुड फर लाइफ कस्तो संस्था हो ?
फुड फर लाइफले आफूले आफूलाई गैर-नाफामूलक र गैर-धार्मिक संस्था भनेर दाबी गर्छ। तर यो संस्था हरे कृष्ण आन्दोलनमा संलग्न देखियो। विश्वव्यापी रूपमा ‘फुड योगा इन्टरनेश्नल’ सँग यो आबद्ध देखियो।
यसको प्रमुख सहायक संस्था भारतको मुम्बईमा आधारित छ। यसको मुख्यालय अमेरिकाको मेरिल्यान्ड राज्यको पोटोम्याकमा छ। नेपालमा यो सन् २०१५ मा दर्ता भएको देखिन्छ। यसले विदेशी संस्थाहरूसँग समेत खाजाका लागि भनेर सहयोग रकम लिएको विवरणमा देखिन्छ। तर संस्थाका पदाधिकारीहरूले योबारे केही खुलाउन चाहेनन्।
असार १८, २०८२ बुधबार १४:१३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।