कमजोरी स्विकारेर ठिक गरे प्रकाशले, निर्देशनको सामान्य ग्रामर पनि नबुझी त के निर्देशक बन्नु हो !

कमजोरी स्विकारेर ठिक गरे प्रकाशले, निर्देशनको सामान्य ग्रामर पनि नबुझी त के निर्देशक बन्नु हो !

काठमाडौं : जो हिँड्छ उही त लड्छ। प्रकाश सपुत पनि कला क्षेत्रमा हिँडे गायकबाट नायकहुँदै निर्देशनसम्म। गायन यात्रा दौडियो उनको। जे निकाल्यो त्यही हिट।

आफ्नो गीतको म्युजिक भिडियोमा अभिनय गरेको आत्मबलले नायक बने। फिल्म ठिकठिकै चल्यो। वाह पनि भएन, छ्या पनि भएन। लिड रोल पाइरहेका थिएनन् उनले।

अनि हौसिँदै आफैँ लिड रोलमा अभिनय गर्ने मात्र हैन, निर्देशन पनि आफैँ गर्न हौसिए। ‘वसन्त’ बनाए पनि तर फिल्मको सामान्य ग्रामर पनि नबुझी। त्यसको नतिजा हलमा देखियो।

जुन बेलामा फिल्म वसन्त रिलिज भयो त्यही बेलामा उनी प्रधानमन्त्री केपी ओलीको अति प्रशंसा गर्दा विवादमा परिरहेका थिए। सामाजिक सञ्जालमा ‘हनुमान’ पगरी नै पाए उनले।

तर वसन्त फ्लप हुनुमा ओलीको अति प्रशंसा कारण थिएन। कारण थियो अति फितलो निर्देशन। उनले कथा त बुने तर फिल्मको फ्रेम बुझेनन्। फिल्म बनाउँछु भनेर गीत नाटक बनाउन पुगे।

गल्ती हुनु एउटा कुरा तर मेरो फिल्म गज्जब बनेको थियो लखेटेर चल्न दिएनन् भन्ने भ्रममा बस्नु अर्को कुरा। फिल्म हलमा टिकेको बेलासम्म उनले पहिलो शैली अपनाए। फिल्म नचल्नुको कारण निर्देशनमा भएको कमजोरी थियो। तर उनी ओलीलाई प्रशंसा गर्दा आलोचना भएकाले फिल्म चलेन भनेर भ्रम छर्नतिर केन्द्रित भए।

धन्न, अन्त्यतिर भए पनि उनले आफ्नो कमजोरी स्विकारे। अनि २०८१ लाई बिदा गर्दैगर्दा उनले आफ्नो कमजोरी स्विकार्दै लेखे ‘ फिल्म ‘वसन्त’मा गरेको गल्ती अबको फिल्ममा दोहोर्याउने छैन। वसन्तको कमजोरी सच्याएर अर्को फिल्म बनाउनेछु।’

उनले वसन्तको अन्त्य अर्को सिक्वेल ‘शान्ति’ बाट गरेका छन्। तर शान्तिको निर्माण सकिएर प्रदर्शनको समयसम्म वसन्तको छवि कायमै रहने हो भने ‘शान्ति’ले सपुतको मनमा खलबली मच्चाउने पक्कापक्की छ।

यति मात्रै हैन, यो बिचमा उनले अभिनय गरे फिल्महरू प्रदर्शनको लाइनमा छन्। ‘सोल्टिनी’ र ‘हरिबहादुरको जुत्ता’मा उनले अभिनय गरेका छन्। वसन्तले फिल्मबारे देखाएको प्रकाश सपुतको कमजोर ज्ञानको नकारात्मक प्रभाव यी फिल्ममा पनि पर्ने जोखिम त छ नै।

त्यसैले पनि होला उनले आफ्नो कमजोरीको दोष अरूको काँधमा राख्न छाडेर स्विकार्दै लेखे ‘वसन्त बनाएर एउटा साँचिएको कथा भन्नु पर्ने थियो, भनियो। चलचित्र सोल्टिनी र हरिबहादुरको जुत्तामा काम गरियो। तर केही खराब संयोगहरूले मलाई बेचैन बनाए। उद्देश्य र नियत बिना नै केही अपजसहरूमा म फसेँ। लगातार प्रहार भइरह्यो। आशा छ, २०८२ त्यस्तो हुने छैन।’

भ्रममा बसे एकै गल्ती पटक पटक दोहोरिन्छ। कमजोरी स्विकारे सच्याउने मौका पाइन्छ। उनको यो स्ट्याटसमा उनले कमजोरी स्विकारेको भाव देखियो। उनले सच्चिने बाटो अपनाएर ठिकै गरे।

अन्त्यमा उनलाई उकेराको एउटा सुझाव अब पनि आफैँ फिल्म निर्देशन गर्ने रहर मरिसकेको छैन भने स्वदेश वा विदेश जहाँ सम्भव छ छोटो अवधिको निर्देशन सम्बन्धी क्र्यास कोर्स भए पनि गर्नु। कमसेकम त्यसले फिल्मको ग्रामरसम्म भए पनि बुझाउँछ। ग्रामरै नबुझी त के निर्देशक बन्नु हो!

वैशाख २, २०८२ मंगलबार २०:४२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।