नम्बर वान गोलकिपर एञ्जिलालाई मैदानमा साथ दिने दर्शकले 'अञ्जिला' का रुपमा हलमा साथ देलान् ?

काठमाडौँ : बायोपिक, त्यसमा पनि एक महिला फुटबलरको ! विश्व फिल्म नगरीमा बायोपिक पपुलर विधा भए पनि नेपालको हकमा दुर्लभ जनरा नै हो यो। फाट्टफुट्ट बायोपिक फिल्म नबनेका हैनन्। आदिकवि भानुभक्त आचार्य अनि गायक भक्तराज आचार्यमाथि फिल्म बने। तर सोचे जस्तो सफल भएनन्।
धेरै टाढा जानै परेन। भारतमा बक्सर मेरीकोमको बायोपिक फिल्म सुपर हिट भएकै हो। महेन्द्रसिंह ध्वनिदेखि सञ्जय दत्त सम्मको बायोपिक फिल्म बने र गजब चले पनि।
आदिकवि अनि भजन सम्राट् मानिएकाहरूको बायोपिक नचलेको बेलामा एक खेलाडी, त्यसमा पनि महिला अनि भूमिका गोलकिपरको। जसले फिल्म निर्माणको निर्णय गर्यो राम्रै हिम्मत गरेकै हो।
त्यही हिम्मत गरेर महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको बायोपिकमा फिल्म ‘अञ्जिला’ निर्माण भयो र यो फिल्म बिहीबार होलीको दिन पारेर रिलिज समेत हुँदैछ।
फिल्म निर्माण टिमले विदेशपछि नेपालमा सोमबार प्रिमियर गरेको फिल्मले गजबको प्रतिक्रिया पायो। अधिकांश दर्शक एन्जिलाको सङ्घर्ष हलमा हेरेर आँखा भिजाउँदै बाहिरिएका थिए। फिल्मले प्रिमियरमा पाएको प्रतिक्रियाले निर्देशक मिलन चाम्स सकारात्मक छन्। बुधवारै बुकिङ खुलेको थियो फिल्मको। बुकिङको प्रतिक्रिया अनि हलमा अन्य नेपाली फिल्मको चाप हुँदाहुँदै फिल्मले पाएको शोज्हरुले निर्माण टिम सन्तुष्ट नै देखियो। जुन तहको फिल्म निर्माण भएको छ यसले माउथ पब्लिसिटीको आधारमा शो सङ्ख्याहरू बढ्ने सम्भावना बलियो देखिन्छ।
पाँचथरको फौजी परिवारमा जन्मिएकी एन्जिलाले सानैबाट दुख पाइन्। बाबुले छाडेर हिँडे। आमाको भरमा हुर्कँदै गरेकी उनले कान्छोबाबुको माया पाइन्।
नयाँ परिवारसँगै नयाँ दाइ र दिदीहरू पाएकी उनले उनीहरूकै साथ र हौसलाले फुटबलमा प्रवेश गरेर अहिलेको उचाइ पाइन्। अनि उनको यो कथालाई निर्देशक चाम्सले पर्दामा उतार्ने हिम्मत गरे।
फिल्मको मुख्य भूमिकामा एञ्जिला आफैँले अभिनय गरिन्। मेरिकोमको बायोपिकमा अभिनय गरेका सुनिल थापा, अहिलेका व्यस्त अभिनेता दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ फिल्मसँग जोडिए। बायोपिकको पात्रसँगै फिल्मको लाइनअप पनि बलियो भयो।
एञ्जिलाको जन्मथलो इलामको आइतबारेसहित झापा र काठमाडौँमा छायाङ्कन गरिएको फिल्म नेपालमा बायोपिकको परीक्षण समान हो। नेपाली महिला फुटबल टोली लगातार अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको फाइनलमा पुगेर उप-विजेता हुने गरेको छ। एक त कथा, अनि निरन्तर बढ्दो महिला फुटबलको क्रेज। यसले हलमा एन्जिलाले उप-विजेताको ट्याग हटाएर विजेता हुने सम्भावना बलियो देखिन्छ। तर मैदानमा साथ दिने दर्शकले हलमा साथ देलान् त !
फागुन २९, २०८१ बिहीबार ००:५४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।