च्याम्पियन्स ट्रफीमा आज भारत र न्युजिल्याण्ड भिड्दै

च्याम्पियन्स ट्रफीमा आज भारत र  न्युजिल्याण्ड भिड्दै

काठमाडौं : आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को समूह चरणको अन्तिम खेलमा आज भारत र न्युजिल्याण्ड भिड्दैछन्। पहिले नै सेमिफाइनलमा प्रवेश गरिसकेका दुवै टोली समूह विजेताका लागि खेल्दैछन्। 

आजको विजयी टोलीले सेमिफाइनलमा अष्ट्रेलियासँग भिड्दा हार्ने टोलीले दक्षिण अफ्रिकाको सामना गर्नेछ। खेल युएईको दुबई क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा दिउँसो २:४५ बजे हुनेछ।

च्याम्पियन्स ट्रफीमा भारतले पहिलो खेलमा बंगलादेशलाई र दोस्रो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो। जबकि, न्युजिल्याण्डले पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा बंगलादेशलाई हराएको थियो।

च्याम्पियन्स ट्रफीमा दुवै टोली दोस्रो पटक आमनेसामने हुँदैछन्। यसअघि सन् २००० मा न्युजिल्याण्डले प्रतियोगिताको फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको थियो। साथै, भारतले पछिल्ला ५ एकदिवसीय खेलमा न्युजिल्याण्डलाई लगातार पराजित गरेको छ।

हालसम्म दुई टोलीबीच ११८ एकदिवसीय खेल खेलिएका छन्। भारतले ६० खेल जित्यो भने न्युजिल्याण्डले ५० खेल जित्यो। ७ खेलमा नतिजा आएन। जबकि एउटा खेल बराबरीमा सकिएको थियो।

आज दुबईमा प्रायः घमाइलो र धेरै गर्मी हुनेछ। तापक्रम १९ देखि २५ डिग्री सेल्सियसको आसपास रहने अनुमान गरिएको छ। साथै, हावा प्रतिघण्टा २० किलोमिटरको गतिमा चल्नेछ।

फागुन १८, २०८१ आइतबार १२:५०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।