चोरीको मोबाइल नदिएको निहुँमा दुई पक्षबीच झडप हुँदा एक युवकको मृत्यु

चोरीको मोबाइल नदिएको निहुँमा दुई पक्षबीच झडप हुँदा एक युवकको मृत्यु

काठमाडौं : काठमाडौंमा चोरीको मोबाइलको निहुँमा दुई समूहबीच झडप हुँदा एक युवकको हत्या भएको छ। 

चावहिलको कुमारीगालस्थित उमामहेश्वरीमा आइतबार बिहान भएको झडपमा गम्भीर घाइते भएका २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो।

अरुकै घरबाट चोरेर ल्याएको किप्याट मोबाइल कसले लिने भन्ने विवाद उत्पन्न भएपछि दुई पक्षबीच विवाद हुँदा संघर्षको मृत्यु भएको प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिल राज बोहोराले जानकारी दिए।

‘एक समूहले किप्याट मोबाइल चोरेको देखिन्छ। अर्काे पक्षले आफूले राख्ने भन्दै विवाद भएपछि चक्कु हानाहान भएको देखिन्छ। त्यही विवादमा अमृतको मृत्यु भएको हो,’ उनले भने। 

त्यस घटनामा प्रहरीले दुई जना घाइते युवाहरुलाई उद्दार गरेर अस्पताल लागेको थियो। अचेत अवस्थामा भेटिएका संघर्ष कार्कीलाई केएमसी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।
 
अर्का घाइते १६ वर्षीय क्षितिज कार्कीको हात, पिठ्युँ र तिघ्रामा चोट लागेको थियो। केएमसीले उनलाई थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गर्यो। उनलाई सोही राति ९ बजे अस्पतालबाट डिस्चार्ज गरी हाल गौशालाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

घटनास्थलबाटै प्रहरीले दुई जना आरोपीहरुलाई तत्काल नियन्त्रणमा लिएको थियो। 

पक्राउ परेकाहरुमा दोलखाको जिरी नगरपालिका १ स्थाइ घर भई हाल कपनको सिमलटार बस्ने २२ वर्षीय युनिक लामा भनिने नुर्बु शेर्पा र सिन्धुपाल्चोक बाह्रविसे-८ घर भइ हाल गोकर्णेश्वर–८ बस्ने २० वर्षीय विशाल तामाङ रहेका छन्।

झडपमा संलग्न दुवै समूह काठमाडौंमा मोबाइल, ल्यापटप चोरीमा सक्रिय रहेको प्रहरीले जनाएको छ। 

उनीहरुलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

माघ २९, २०८१ मंगलबार १९:४२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।