काठमाडौं महानगरमा प्रारम्भिक बाल विकास कक्षा, एकै दिन ९७१ जना भर्ना

काठमाडौं : काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा एकै दिन ९७१ जना बालबालिका प्रारम्भिक बाल विकास कक्षामा भर्ना भएका छन्।
माघ २१ मा मनाइएको सरस्वती पूजाका दिन भर्ना हुनेमा ५३२ जना छात्रा छन् भने ४३९ जना छात्र छन्।
महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन्। यीमध्ये ८१ वटामा प्रारम्भिक बाल विकास कक्षा (इसिडी) छन्।
सबैभन्दा धेरै विद्यार्थी भर्ना भएको विद्यालय कन्या माध्यमिक विद्यालयमा ६५ जना छात्रा छन्। ज्ञानोदय माविमा ६० जना, जनपथ माविमा ४२ जना, कुलेश्वर माविमा ४१ जना विद्यार्थी भर्ना भए।
यस्तै, नीलवाराही मावि, सरस्वती निकेतन मावि, सितला माविमा ४०/४० बालबालिका भर्ना भएको महानगरले जनाएको छ।
प्रारम्भिक बाल विकास कक्षाहरूमा बाल केन्द्रित सिकाइको स्तर वृद्धि गर्न महानगरले काठमाडौं विश्वविद्यालयसँगको स्कूलटिच प्रोग्राम अन्तर्गत पूर्वाधार, उपलब्धता, उपलब्ध सामग्रीको प्रयोग, शिक्षकहरूको क्षमतालगायत कोणबाट अध्ययन गरेको थियो।
सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार अध्ययनले देखाएको आवश्यकता पूर्ति गर्दै बाल विकासका कक्षाहरूको स्तर वृद्धिमा काम भइरहेको छ।
यसअन्तर्गत विद्यार्थीहरूको संख्या, उपलब्ध स्थानलगायतको आधारमा ८१ वटा विद्यालयका प्रारम्भिक बाल विकास कक्षामा शिक्षण सिकाइ सामग्रीका लागि ८ करोड ६५ लाख रुपैयाँ पठाइएको छ।
शिक्षकहरूलाई २ चरणमा ४८ घण्टे तालिम प्रदान गरिएको छ।
माघ २२, २०८१ मंगलबार १४:५१:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।