आयुर्वेद डा. मदनको अनुभव : समाजमा चिनिएका मान्छेहरू पायल्सको उपचार गर्न लजाएर खुसुक्क क्लिनिकमा आउँछन्

आयुर्वेद डा. मदनको अनुभव : समाजमा चिनिएका मान्छेहरू पायल्सको उपचार गर्न लजाएर खुसुक्क क्लिनिकमा आउँछन्

डा. मदन भण्डारी आयुर्वेदतर्फको शल्य चिकित्सक हुन्। उनले आयुर्वेदिक शल्यचिकित्सा विधि अपनाई कयौं व्यक्तिको उपचार गरेर सञ्चो बनाएका छन्। चिकित्सकीय पेशाका शिलशिलामा देखे भोगेका यस्तै तितामिठा अनुभव डा. मदनले उकेरासँग साटेका छन्।

000

एलोपेथी चिकित्सकको शल्यक्रिया गरेर पायल्स ठिक बनाएपछि...
न त आधुनिक चिकित्सा विधि अपनाएर सबै किसिमका रोग ठिक हुन्छन् न त आयुर्वेद नै। कुनै स्वास्थ्य समस्या आधुनिक चिकित्सा विधि अपनाएर ठिक बनाउन सकिन्छ भने कुनै आयुर्वेदिक चिकित्सा विधि। 

डा. मदनलाई थाहा छ- कयौं रोग आयुर्वेद चिकित्सा विधिले ठिक हुँदैनन्, अनि कयौं रोग आधुनिक चिकित्सा विधिले पनि ठिक हुँदैनन्। त्यसैले उनी आयुर्वेद चिकित्सा विधिले रोग ठिक नहुने बिरामीलाई आधुनिक चिकित्सा विधि अपनाई उपचार गर्नको लागि रेफर गर्छन्।

अनि आजकाल कयौँ रोगको उपचारका लागि आधुनिक चिकित्सा विधि अध्ययन गरेका चिकित्सक (एलोपेथी चिकित्सक) र स्वास्थ्यकर्मीले पनि उनीकहाँ बिरामी रेफर गरिदिन्छन्। 

आधुनिक चिकित्सा विधि (एलोपेथी) अध्ययन गरेका चिकित्सकको डा. मदनले केही महिनाअघि पाइल्सको समस्याले हैरान भएका एक जना एलोपेथीकै अध्ययन गरेका चिकित्सकको शल्यक्रिया गरेर रोग फालिदिए। 

त्यसअघि ती चिकित्सकले विभिन्न किसिमका एलोपेथी विधिबाट पायल्सको औषधि उपचार गरेका थिए। तर, समस्या ठिक भएनछ।  शल्यक्रिया नै गर्नुपर्ने अवस्था निम्तियो। अनि ती चिकित्सक आधुनिक शल्य चिकित्सा विधिको सट्टा आयुर्वेदिक शल्यचिकित्सा विधिबाटै शल्यक्रिया गर्ने निर्णयमा पुगेछन्। 

ती आधुनिक चिकित्सा विधिको अध्ययन गरेका चिकित्सकको क्षारसूत्र विधि अपनाई डा. मदनले पायल्सको शल्यक्रिया गरिदिए। शल्यक्रियापछि ती एलोपेथी चिकित्सकको पायल्सको समस्या ठिक भयो। अनि ती चिकित्सक अहिले पनि बेलाबेलामा फलोअपमा आउने गरेको र उनमा पायल्सको समस्या ठिक भएको  डा. मदनले सुनाए।

पायल्समा क्षारसूत्र विधि नै प्रभावकारी
डा. मदन आयुर्वेदतर्फको शल्य चिकित्सक हुन्। त्यसैले उनी बिरामीलाई स्वास्थ्य समस्याको प्रकृतिअनुसार आयुर्वेदिक विधि अपनाई औषधि उपचार गर्छन्। अनि आवश्यकताअनुसार आयुर्वेदिक विधि अनुसारको शल्य चिकित्सा विधि अपनाई शल्यक्रिया गर्छन्। र, बिरामीको रोग फालेर सञ्चो बनाउने कोसिसमा उनी तल्लीन हुन्छन्।
 
डा. मदन विशेष गरी मलद्धारसँग सम्बन्धित समस्या भएका बिरामीको औषधि उपचार तथा शल्यक्रियामै बढी केन्द्रित हुन्छन्। पायल्स, फिसर तथा फिस्टुलाजस्ता समस्याको समाधानका लागि आयुर्वेदको शल्य चिकित्साको ‘क्षारकर्म र क्षारसूत्र’ विधि निक्कै प्रभावकारी रहेको उनले सुनाए। 

मलद्धारजन्य समस्या भएका कयौं बिरामीको क्षारसूत्र विधि अपनाई शल्यक्रिया गरेर बिरामीलाई सञ्चो बनाउन सकिने डा. मदनको अनुभव छ। पायल्स, फिस्टुला तथा फिसरजस्ता समस्या भएका सयौं बिरामीको क्षारसूत्र विधि अपनाई शल्यक्रिया गरेर रोग फालिदिएर बिरामीलाई सञ्चो बनाएका छन्, उनले।

पायल्सलगायत मलद्धारजन्य समस्या भएर उपचारका लागि उनीकहाँ पुग्नेमध्ये सुरक्षा निकायमा काम गर्ने व्यक्तिको संख्या पनि बाक्लै रहेको डा. मदनले सुनाए। 

‘समाजमा चिनिएकामा मान्छे पायल्सको उपचार गर्न लाजले खुसुक्क क्लिनिकमा आउँछन्’
डा. मदनले विभिन्न जनप्रतिनिधि र समाजमा चिनिएका व्यक्तिको पायल्सको शल्यक्रिया गरी रोग ठिक बनाएका छन्। तर, कतिपय समाजमा चिनिएका व्यक्ति भने पायल्सको उपचार गर्न अस्पताल पुग्नै लजाउने गरेको उनले सुनाए। अनि विशेष गरी जनप्रतिनिधि तथा समाजमा चिनिएका व्यक्तिहरू पायल्स लगायत मलद्धारजन्य समस्याको उपचारका लागि खुसुक्क क्लिनिकमा पुग्ने गरेको उनले अनुभव सुनाए।

केही समयअघि एक जना जनप्रतिनिधि अस्पतालमा नगई डा. मदनलाई फोन गरेर खुसुक्क क्लिनिकमा पुगे। अनि उनले ती जनप्रतिनिधिको क्षारसूत्र विधि अपनाई पायल्सको शल्यक्रिया गरे। शल्यक्रिया सफल भयो। पायल्सको त्यो समस्या ठिक भयो। अहिले पनि ती जनप्रतिनिधिले बेलाबेलामा भेटेर उनलाई धन्यवाद दिन्छन्।

यो त एउटा उदाहरण मात्रै भयो। यसरी लाज मानेर खुसुक्क क्लिनिकमा पुगेर उपचार गराउने जनप्रतिनिधि, उच्चतहका सरकारी कर्मचारी अनि समाजमा चिनिएका व्यक्तिको संख्या बाक्लै रहेको डा. मदनले सुनाए। 

क्यान्सर भएका दुई पुरुष पायल्स भन्ठानेर झुक्किएपछि...
वास्तवमा क्यान्सरको समस्या भएका तर, पायल्स भन्ठानेर यसको औषधि खाएका कयौं बिरामी उनीकहाँ पुग्ने गरेका छन्। यसमध्ये कयौं बिरामी त भारतमा गएर सही उपचार नपाएपछि आफूकहाँ आइपुग्ने गरेको पनि उनले सुनाए। 

रोग पहिचानका लागि सही ठाउँमा नपुग्दा क्यान्सर भइसक्दा समेत पायल्स भन्ठानेर पायल्सको औषधि उपचार गरेका कयौं बिरामीको पीडा उनले नजिकबाट देखेका छन्। अनि त्यस्ता बिरामीलाई उनले उपचारका लागि अन्य अस्पतालमा रेफर गरेका छन्। 

त्यसमध्ये करिब ५० वर्षका एक जना पुरुष बिरामीको उपचार गरेको प्रसंग डा. मदन कहिल्यै भुल्दैनन्। ती पुरुषले पायल्स भन्ठानेर पायल्सको औषधि सेवन गरिरहेका थिए। पायल्स नै भन्ठानेर उनले एक जना आयुर्वेदिक चिकित्सकबाट शल्यक्रिया पनि गरेका रहेछन्। तर, कसै गरे पनि रोग ठिक नभएपछि ती पुरुष एक दिन डा. मदनकहाँ पुगेछन्। 

त्यसपछि उनले ती पुरुषको स्वास्थ्य परीक्षण गरे। स्वास्थ्य परीक्षण गर्दा त ती पुरुषलाई क्यान्सरको लक्षण देखियो। अनि उनले थप स्वास्थ्य परीक्षण गर्न पठाए। डा. मदनको सल्लाहअनुसार ती पुरुषले स्वास्थ्य परीक्षण गरे। स्वास्थ्य परीक्षण गर्दा त उनको आन्द्रामा क्यान्सर नै भएको पुष्टि भयो। त्यसपछि उनले थप उपचारका लागि भरतपुर क्यान्सर अस्पतालमा रेफर गरिदिए। 

तर, त्यो बेलासम्म क्यान्सर फैलिएर ती पुरुषको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो। यसरी बिरामीले दुःख पाएको देख्दा भने डा. मदनको मन साह्रै कुँडिन्छ। 

त्यसैगरी केही समयअघि आन्द्राको क्यान्सर हुँदा समेत थाहा नपाएर पायल्स भन्ठानेर पायल्सको औषधि खाएर बसेका करिब ५५ वर्षका पुरुष उपचारका लागि उनीकहाँ पुगे। डा. मदनले कोलोनोस्कोपी गर्न सुझाव दिए। चेक जाँच गर्दा त ती पुरुषको पनि क्यान्सर भइसकेको रहेछ। क्यान्सर नै फैलिएको थाहा पाएपछि उनले ती पुरुषलाई उपचारको लागि भरतपुर क्यान्सर अस्पतालमा पठाए। अनि ती पुरुषको भरतपुरमा उपचार भएको उनले सुनाए। 

यी दुई पुरुषको क्यान्सर भएको त प्रतिनिधि घटना मात्रै हुन्। यस्ता घटना त उनी नजिकबाट देखिरहन्छन्। त्यसैले पायल्सको जस्तो लक्षण देखिएको खण्डमा पायल्स होला भन्ठानेर सामान्य रुपमामात्रै नलिन डा. मदनको सुझाव छ।

बीएएमएसमा सर्वोत्कृष्ट नतिजा
मदन भण्डारी चितवनको साबिक मेघौली गाविसमा २०४९ मा जन्मिएका हुन्। उनले स्थानीय ‘मिलीजुली हाइयर सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुल’बाट २०६२ मा एसएलसी गरे। त्यसपछि नवलपरासीको गैंडाकोटस्थित ‘अक्सफोर्ड हाइयर सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुल’बाट प्लस टु गरे।

उनलाई सानैदेखि डाक्टर बन्ने इच्छा थियो। त्यसमा पनि आयुर्वेद डाक्टर नै बन्ने इच्छा भयो। 

प्लसटुपछि मदन त्रिभुवन विश्वविद्यालयअन्तर्गत कीर्तिपुर आयुर्वेद क्याम्पसमा २०६७ मा आयुर्वेदिक चिकित्सा विषय ‘ब्याचलर्स इन आयुर्वेद मेडिसिन एण्ड सर्जरी’(बीएएमएस) अध्ययनका लागि भर्ना भए। उनले २०७२ मा बीएएमएस अध्ययन पूरा गरे। 

अध्ययनमा अब्बल मदन बीएएमएसको त्यो ब्याजको विश्वविद्यालयमा सर्वोत्कृष्ट हुन समेत सफल भए।

उनले थप अध्ययन त गर्नु नै थियो। त्यसपछि डा. मदन आयुर्वेद विषयमा थप अध्ययनका लागि भारत पुगे। उनी भारतको ‘राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्सेस’अन्तर्गतको ‘एसडीएम कलेज अफ आयुर्वेद एण्ड हस्पिटल (हसन)’मा स्नातकोत्तर तहको आयुर्वेद विषय अध्ययनका लागि भर्ना भए। उनले त्यहाँ छात्रवृत्ति कोटामा नै अध्ययन गरेका हुन्। त्यहाँबाट उनले स्नातकोत्तर तहको आयुर्वेद सर्जरीको ‘शल्य चिकित्सा’ विषयमा तीन वर्षे ‘एमएस’अध्ययन गरे। डा. मदनले उत्कृष्ट अंककासाथ नै एमएस अध्ययन सके। अनि उनी नेपाल फर्किए।

नेपाल फर्कनासाथ डा. मदनले काभ्रेको धुलिखेलस्थित ‘पतञ्जली आयुर्वेद मेडिकल कलेज तथा रिसर्च सेन्टर’मा उपप्राध्यापकका रुपमा जागिरे भएर केही समय आयुर्वेदका विद्यार्थीलाई पढाए। 

त्यसपछि डा. मदन दाङको बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा कन्सल्टेण्ट आयुर्वेद शल्य चिकित्सकका रुपमा करार जागिरे भएर २०७७ मा काम गर्न थाले। त्यसयता निरन्तर उनी त्यहीँ कार्यरत छन्। 

त्यसैगरी दुई वर्षयता डा. मदन नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठमा उपप्राध्यापकका रुपमा समेत कार्यरत छन्। 

औषधि उपचार अनि आवश्यकताअनुसार शल्यक्रिया गरी बिरामीलाई सञ्चो बनाउनु डा. मदनको मुख्य चिकित्सकीय काम हो। त्यसैगरी आयुर्वेदका विद्यार्थीलाई आफूले सिकेका ज्ञान बाँड्ने अनि आयुर्वेद चिकित्सासँग सम्बन्धित वैज्ञानिक खोज तथा अनुसन्धानमा समेत केन्द्रित भएर उनी काम गर्छन्। 

डा. मदनका आयुर्वेद चिकित्सासँग सम्बन्धित अनुसन्धानात्मक आलेख विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्। त्यसैगरी उनले विभिन्न सेमिनारहरूमा पनि कार्यपत्र प्रस्तुत गरेका छन्। 

माघ १९, २०८१ शनिबार २०:४६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।