होटेलमा आएका ग्राहकसँग शारीरिक सम्पर्क राख्न लगाई वेश्यावृत्तिमा लगाएको आरोपमा ४ जना पक्राउ

होटेलमा आएका ग्राहकसँग शारीरिक सम्पर्क राख्न लगाई वेश्यावृत्तिमा लगाएको आरोपमा ४ जना पक्राउ

काठमाडौं : वीरगन्जबाट वेश्यावृत्ति धन्दा चलाएको आरोपमा दुई महिला र दुई पुरूष पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरूमा भारत विहार राज्य छपरा थाना मडहौरा ग्राम पञ्चायत बरदहिया-११ बस्ने ३५ वर्षीय मनेजर राय, महोत्तरी भंगहा नगरपालिका-२ टिकुलिया बस्ने ३२ वर्षीया सुक्राती चौधरी, ओखलढुंगा घर भएका ३३ वर्षीय दिपेश राई र बारा जितपुरसिमरा उपमहानगरपालिका-१४ बस्ने ३८ वर्षीया मीराकुमारी महतो छन्। 

जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका-१६ स्थित होटेल तथा गेस्ट हाउसमा छापा हानी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभनमा पारी होटेलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई वेश्यावृत्तिमा लगाउने कार्यमा उनीहरू संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी सुवास भट्टले बताए। 

त्यस क्रममा प्रहरीले दुई जना महिलाको उद्धार समेत गरेको छ।

उनीहरूमाथि मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।  

माघ १९, २०८१ शनिबार १९:४१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।