फिल्म ‘एक्टर : टेक वान’लाई विवादले छाडेन, अदालतमा पर्यो मुद्दा
काठमाडौँ : प्रचारको सुरुवात गर्दै थिम पोस्टर सार्वजनिक गरेदेखि नै निरन्तर विवादमा परेको पर्यै गरिरहेको फिल्म एक्टर : टेक वानले रिलिज मिति माघ १६ तोकेको छ। तर फिल्मको निर्माण टिम भने एकपछि अर्को विवादमा तानिएको तानियै छन्।
फिल्म जवानमा साहरुख खानको नक्कल गर्दै प्रदीप खड्काको थिम पोस्टर सार्वजनिक गरेर विवादको सुरुवात गरेको फिल्मको ट्रेलरसँगै प्रदीपलाई सुपरस्टार भनेर दिइएको ट्यागले समेत हैरान बनाइरहेको बेलामा फिल्मको प्रदर्शन नै रोक्न माग गर्दै अर्को फिल्म ‘एक्टर’का निर्माता सम्राट थापाले प्रतिलिपि अधिकार हननको दाबी सहित आइतबार जिल्ला अदालत, काठमाडौँमा मुद्दा दर्ता गरे।
चलचित्र विकास बोर्डमा पहिल्यै एक्टर फिल्मको नाम दर्ता भएको थियो। पछि स्पेलिङ बिगारेर Actor को ठाउँमा Aktor राखेर फिल्म निर्माणको काम शुरु गरेसँगै पछि Aktor : Take one नाम राखेर अलग्गै फिल्मको निर्माण भएको थियो। यो फिल्मको नामबारे प्रारम्भदेखि नै विवाद भए पनि एक्टर : टेकवान टिमले पेल्दै आएको थियो।
एक्टर माघको ४ मा रिलिज भएको थियो। अदालतमा दायर निवेदनमा ‘एक्टरः टेक वान’ले एउटै नाम राख्दा दर्शकमा अन्योल भएको, नेपालमा रिलिजपछि त्यसको नकारात्मक प्रभाव परेको र विदेशमा समेत रिलिजको तयारी गरिएको र त्यसमा गम्भीर असर पर्ने भन्दै रिलिज रोक्न माग गरिएको छ।
निवेदनमा फिल्मको नाम परिवर्तन गर्न र ‘एक्टर’ नामको अधिकार आफूलाई दिन समेत माग गरिएको छ।
‘गैर कानुनी रूपमा प्रतिलिपि चोरी गरी निर्माण गरिएको फिल्म माघको १६ गतेमा प्रदर्शन नगर्नु/ नगराउनु तथा अन्य अर्को व्यवस्था नभएसम्मका लागि उक्त फिल्म कुनै पनि विधि, पद्धति तथा कहीँ कतै प्रदर्शन नगर्नु/नगराउनु भनी रोक्काको आदेश समेत जारी गरी पाउँ’ निवेदनमा भनिएको छ।
एक्टर : टेकवानले कात्तिक १५ मा रिलिज मिती तोकेर पछि ब्याक भएको थियो। अर्को एक्टर फिल्म भने माघ ४ मा रिलिज भयो। फिल्मले दर्शकको साथ पाएको छैन। एक्टर : टेक वान माघ १६ मा रिलिज हुने तयारीमा छ। फिल्म निरन्तर विवादमा तानिएकाले यसको हालत पनि एक्टरको झैँ नहोला भन्न सकिन्न।
माघ १३, २०८१ आइतबार १६:००:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।