प्रदीप केको आधारमा सुपरस्टार?, धेरै फिल्म फ्लप भए सुपरस्टार हुने हो?

प्रदीप केको आधारमा सुपरस्टार?, धेरै फिल्म फ्लप भए सुपरस्टार हुने हो?

काठमाडौं : नेपालमा फिल्म भन्दा पनि बढी चर्चा कुन कलाकारलाई दिइने स्टार ट्यागको बढी बहस चल्छ। कहिले राजेश हमाललाई महानायक भन्ने कि नभन्नेमा बहस चर्किन्छ त कहिले अनमोल केसी मेगास्टार हो या हैनन् भन्ने विषयमा चर्का बहस हुन्छ अनि समर्थकहरू विभाजित हुन्छन्।

राजेश हमाल महानायक हुन् की हैनन् भन्ने प्रश्नले निर्देशक दीपाश्री निरौलालाई सामाजिक सञ्जालबाट भित्तामै पुर्याउने काम भएको थियो। उनले के आधारमा महानायक भन्ने कुरा राखेकी थिइन्। तर उनले महानायक होइन भन्ने प्रश्न राख्दै गर्दा केही मिडियाकर्मीले नै उनको खैरो खने।

दश वर्षमा १० वटा फिल्म खेलेको अनमोलको अधिकांश फिल्म फ्लप भए। निर्माताहरुलाई लगानी उठाउनै धौँधौँ परेको बेलामा केही मिडियाकर्मीले उनलाई मेगास्टार भनेर ट्याग भिराइदिए। युट्वयुर मात्र होइन, फिल्मकर्मीहरूले नै आफ्नो फिल्ममा अनमोल केसीलाई मेगास्टार भनेर प्रचार गरेका थिए।

फिल्म निर्माता रोहित अधिकारीले आफ्नो फिल्म ‘फर्की फर्की’मा अनमोललाई मेगास्टारको ट्याक राखेका थिए। उनी फिल्मको कन्टेन भन्दा पनि अनमोल केसीलाई स्टार बनाउने दौडधुपमा लाग्दा दर्शकले फिल्म फर्किएर पनि हेरेनन्। फ्लप भयो।  

अनमोललाई मेगास्टारको पगरी गुथाएको एक वर्ष नबित्दै अर्का निर्देशक राजन भुसाल प्रदीपलाई सुपरस्टारको ट्या भिराउन लागि परेका छन्।   माघ १६  बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर : टेक वान’का प्रचार सामग्रीमा प्रदीपलाई सुपरस्टारको पगरी गुथाइएको छ।

यसबारे कुरा गर्दै भुसालले प्रदीप सुपरस्टार रहेको र उनको लागि यो उपाधि अझै सानो भएको दाबी गरे। उनले राजेश हमाललाई महानायक सबैले स्वीकार गरेको उदाहरण दिँदै प्रदीप खड्का पनि सुपरस्टार भएको दाबी गरे। उनकै छेउमा बसेका प्रदीप आफूलाई सुपरस्टार भन्दा दङ्ग परे। उनले आफूलाई सुपरस्टार नै सम्झिएछन्। उनले थपे,‘मलाई यो एक्टर फिल्म हेरेपछि एक्टर प्रदीप भन्नुहुन्छ होला।’

एक दशक फिल्ममा होमिएका प्रदीप आफैले निर्माण गरेको फिल्म ‘इस्कोप’ सुपर फ्लप भएको थियो। उनी आफैले अभिनय गरेको ‘प्रेमगीत’बाहेक उनलाई पछिल्लो फिल्म ‘पूजार सार्की’को ठिकठिकै व्यापार गरेको थियो। त्यो बाहेक अधिकांश फिल्मले निर्मातालाई राहत दिन सकेनन्।

एक्टर पनि प्रारम्भदेखि नै विवादमा छ। यसको थिम पोस्टरै बलिउड फिल्म जवानबाट चोरिएको थियो। ट्रेलरमा हलिउड फिल्म टेनेटको छाप देखियो। ट्रेलरले जुन कथाको संकेत गरेको छ त्यो कतै हिमेश रेसमियाको एक्सपोजको कथा त हैन भन्ने संकेत देखियो।

खैर, फिल्म के हो, कसो हो भन्ने त रिलिजपछि थाहा भइहाल्छ। राजेश हमाल केको आधारमा महानायक त्यसबारे टन्न आधार दिन सकिन्छ। तर अनमोलको मेगास्टार ट्यागको अर्थ अधिकांश फिल्म फ्लप भएकालाई मेगास्टार भनिन्छ भने मात्र हो। प्रदीपको अभिनय रहेको फिल्म न धेरै कमाउने सूचीमा छ न त सुपर हिट नै। अनि केको आधारमा सुपरस्टार? धेरै फिल्म फ्लप भएर?

माघ १०, २०८१ बिहीबार १७:५१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।