पहिलो पटक यू-१९ महिला विश्वकप खेलेको नेपाल पहिलो खेलमा बंगलादेशसँग हार्यो

पहिलो पटक यू-१९ महिला विश्वकप खेलेको नेपाल पहिलो खेलमा बंगलादेशसँग हार्यो

काठमाडौं : आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ। 

मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बङ्गलादेशले १३ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो। 

बङ्गलादेशका लागि सादिया इस्लामले २४ बलमा एक चौकाको सहयोगमा १६ रन बनाइन्। सुमैया अत्तरले १२ र अफिया अशिमा इराले नौ रन जोडिन्।  

बलिङतर्फ नेपालकी रचना चौधरी, रिया शर्मा, सिमना केसी र पूजा महतोले समान एक/एक विकेट लिए।  

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन बनाएको थियो। नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन बनाइन्। त्यस्तै, सिमाना केसीले १० रनको योगदान दिइन्। अन्य नेपाली ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। 

कप्तान पूजा महतो दुई रनमा आउट भइन् भने अलिशा यादवले चार रन बनाइन्। यसैगरी तिर्सना विक र रचना चौधरीले समान तीन/तीन रन बनाउँदा रिया शर्मा पाँच रनमा नटआउट रहिन्।

बङ्गलादेशका लागि जनाथन माओलाले दुई विकेट लिइन् भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक/एक विकेट लिए। 

नेपालले आफ्नो दोस्रो खेल यही माघ ७ मा स्कटल्यान्डसँग खेल्नेछ। 

प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर–६ मा पुग्न कम्ती एउटा खेल जित्नुपर्छ। समूहमा नेपालसँगै बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन्।  

माघ ५, २०८१ शनिबार १५:१४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।