धरौटी रकम बुझाएर छुटे रवि लामिछाने, बुटवल र चितवनमा आफैं हाजिर हुने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर छुटेका छन्।
बुधबार जिल्ला अदालत काठमाडौंले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका हुन्।
थुनछेक बहसपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीले रविलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएलगत्तै बैंक ग्यारेन्टीमार्फत् उनले धरौटी रकम बुझाएका हुन्।
त्यसअघि पुस २५ मा कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारी ठगीमा रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। त्यहाँ पनि उनी बैंक ग्यारेन्टीमार्फत् धरौटी बुझाएर काठमाडौं जिल्ला अदालतमा आफैं हाजिर हुने शर्तमा छुटेका थिए।
रविमाथि रूपन्देहीको बुटवलको सुप्रिम सहकारी र चितवनको साहारा सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान भइरहेको हुँदा उनी त्यहाँ पनि आफैं उपस्थित हुने छन्।
कास्कीमा पनि उनी धरौटी बुझाएपछि छुटेर आफैं अदालतमा हाजिर भएको हुँदा काठमाडौंमा पनि त्यही नीति अपनाइने प्रहरीले जनाएको छ।
माघ २, २०८१ बुधबार १९:४४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।