आफ्नै पार्टीका नेताको उजुरीमा पक्राउ परे एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल
काठमाडौं : एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन्। उनलाई चेक अनादरसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
प्रहरीका अनुसार २० लाख ५० हजार रूपैयाँ बराबरको चेक बाउन्स भएपछि प्रहरी वृत्त महाराजगन्जमा मल्ल विरुद्ध जाहेरी परेको थियो।
त्यसपछि मल्ललाई सोमबार जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ गरी काठमाडौं पठाएको थियो। काठमाडौं प्रहरीले आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाएको एसपी अधिकारीले बताए।
उनीविरूद्ध एमालेकै पुष्पराज पहराईले जाहेरी दिएका थिए। उनी एमालेनिकट प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका नेता हुन्।
पक्राउ परेका मल्ल भने २०७० सालको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको समूहबाट अनेरास्ववियुको अध्यक्षमा निर्वाचित भएका थिए।
माघ १, २०८१ मंगलबार १५:३५:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।