कार्साङ : निर्देशकको कमजोरीले बलि चढेको अर्ग्यानिक कथा

कार्साङ : निर्देशकको कमजोरीले बलि चढेको अर्ग्यानिक कथा

ल्होसार मनाउन लोव्सन शेर्पा (दयाहाङ राई) साथी माइला कामी ( जितु नेपाल)लाई लिएर ससुराली जान्छन्। ससुरालीमा ल्होसारको रौनक सुरु भइसकेको हुन्छ। आँगनमा सासू-ससुरासँग ढोगभेट सुरु भए लगत्तै फ्याट्ट गीत आउँछ ‘छुपुमा छुपु धानैमा रोपौँ बाटुला हातैले।’

कथाको लयसँग प्रशंगै नमिलाई बिचैमा गीत राख्नु नेपाली फिल्म निर्देशकहरूको निरन्तर कमजोरी नै हो। तै पनि यसो प्रसङ्ग मिलाउन कि डुल्दाडुल्दै मेलामा पुगेको वा सम्झिएको दृश्यसँग लगेर गीत जोड्थे। तर यसमा त निर्देशकले त्यति गर्न पनि झन्झट माने। पात्रले संवाद बोल्दाबोल्दै तामाङ सेलो टाइपको गीत हालिदिए।

नेपालमा रहेका शेर्पा समुदायहरूमध्ये सिन्धुपाल्चोकको यार्सामा बस्ने शेर्पा समुदायमा मात्र प्रचलनमा रहेको भाकलको प्रचलन र त्यसले निम्त्याउने समस्यालाई केन्द्रमा राखेर निर्देशन तथा फिल्मको लेखक याम शेर्पाले कार्साङको निर्माणमा कतिसम्म हेलचेक्राई गरेका छन् भन्ने यो त एउटा सामान्य उदाहरण मात्र हो।

फिल्म हेरिरहँदा ‘हेरे हेर्छन्, नहेरे हेर्दैनन्’ भनेर दर्शकलाई हेपेझैँ देखिने दृश्यहरू कति छन् कति।

शेर्पा समुदाय आफैँमा हिंसा विरोधी समुदायको रूपमा समेत परिचित छन्। त्यो प्रसङ्ग देखाउनै होला निर्देशकले बाटोमा जमेको पानीमा सङ्घर्ष गरिरहेको कमिलालाई सहायक पात्रले हातमा लिएर बोटको पातमा राखिदिएर ज्यान जोगाएको दृश्य समेत राखेका छन्।

तर त्यो दृश्यको सम्बन्ध त्यति नै हो। त्यसपछि आउने फिल्मका अर्को कुनै दृश्यमा पनि त्यो दृश्यको अर्थ नै जोडिन्न। किनकि कमिलाले बाँच्न सङ्घर्ष गरिरहेको देखेर ज्यान जोगाइदिने त्यही कोमल पात्र ठूलाको सिको गर्दै भुराहरूले कुखुराको बली दिँदा रमाएको देखिन्छ।

फिल्मको मध्यान्तरसम्म यो फिल्म कुन चैं विषयमा बनेको हो भन्ने अलमलमै बित्छ। दोस्रो हाफमा अलिकति फिल्मको कथाले गति लिए जस्तो गर्छ। तर कमजोर दृश्य भाषा, गोलमटोल पटकथा र पात्रको कमजोर चरित्र चित्रणले फिल्म कहिले सकिएला भनेर दर्शक हाई काढ्न थाल्छन्।

कथाको प्लट युनिक बोकेका हुन् निर्देशकले। तर निर्देशनकोक्रममा मैले फिल्म बनाइरहेको हो है भन्ने नै बिर्सिए जस्तै देखिन्छ। फिल्मको प्रारम्भको पाँच मिनेट, हाफ टाइमपछिको पाँच मिनेट अनि अन्तिमतिरको पाँच मिनेट जोड्ने हो भने बरु राम्रै सर्ट मुभी बन्न सक्ला। तर निर्देशकले गतिलो कथा पाएर २ घण्टा ५ मिनेटको फिल्म बनाए पनि आफ्नै कमजोरीले गतिलो बनाउन भने सकेनन् कार्साङलाई।

अब फिल्मको कथासारतिर लागौँ।

सिन्धुपाल्चोकको बाह्रबिसेको एउटा गाउँका लोव्सन (दयाहाङ राई) र दिछेन शेर्पा (सिर्जना (लिङलेखु)को सन्तान नभएपछि बोका भाकल गर्छन् र जन्मन्छन् तोरमे (सोहन थापा)।

भाकल अनुसार बोका कुललाई दिएका हुन्छन्। स्थानीय संस्कृति अनुसार त्यही बोकाको विवाह गर्नुपर्ने संस्कार हुन्छ। लोव्सन स्थानीय झाँक्री। उनको जीवनयापनको स्रोत नै त्यही धार्मिक कर्म मात्र। जग्गाजमिन छैन।

उता झाँक्रीको काम गर्दा नि पैसा हैन बियर मात्र पाउँछन् पारिश्रमिकमा। त्यही बियर बेचेर आउने पैसा, घरमा श्रीमतीले बनाउने गाइको घ्यु नै उनीहरूको मूल आयस्रोत।

भाकल गरेको बोकाको विवाह नगरी नगरी दाजुभाइको घरमा पूजा लगायतका कार्जे नखुल्ने। दाजुभाइ अनि काका भतिजले उनलाई भाकल अनुसार कार्साङ( बोका)को चाँडो विवाह गर्न दबाब दिन्छन्। भाकल पुरा नगरे दाजुभाइकै पानी काटिने (कुनै संस्कार नचल्ने) धम्की दिन्छन्।

तर भर्खर आमा बितेर केही जोहो भएको पैसा घेवा (अन्तिम कर्म) मा खर्च गरिसकेका दयाहाङ आर्थिक रूपमा तत्काल कार्साङको विवाह गर्न सक्षम छैनन्।

तर घर बन्धकी राखेर श्रीमतीले कार्साङको विवाह गर्न चाहिने पैसाको जोहो गर्छिन्। तर एकाएक घर बाहिर बाँधेको बोको हराउँछ। हराएको कार्साङ भेटिएर उसको विवाह हुन्छ या दयाहाङको पानी काटिन्छ? फिल्मको मूल कथा यसैमा घुमेको छ।

फिल्म कार्साङ मार्फत निर्देशकले शेर्पा समुदायमध्ये पनि फरक संस्कार र प्रचलन बोक्ने सिन्धुपाल्चोकका शेर्पा समुदायको कथा पर्दासम्म ल्याए।

ब्याकग्राउन्ड म्युजिक र सिनेम्याटोग्राफी फिल्मको सबैभन्दा बलियो पक्ष हो। जितु नेपालको अभिनय यस अगाडिका उनका फिल्मभन्दा फरक छ। उनले आफूसँग भएको फरक चरित्र निर्वाह गर्न सक्ने क्षमता मजाले पोखेका छन् फिल्ममा। फिल्मको दोस्रो गीत मिठो छ अनि कथासँग मेल पनि खाएको छ। फिल्मको सकारात्मक पक्ष यति हो। बाँकी पुरै गन्जागोल।

फिल्ममा भाकल गरेर सन्तान जन्माएका दम्पतीको सङ्घर्षसँगै सन्तान नभएर रन्थनिएका दम्पती माइला कामी (जितु नेपाल) र पुतली (दिया मास्के)को कथा समेत छ।

दयाहाङको दम्पती सन्तानका लागि गरेको भाकल पुरा गर्न सङ्घर्षमा छन्। उता माइला र पुतली सन्तान जन्माउने सङ्घर्षमा छन्। आर्थिक अभावले न उनीहरूले दयाहाङ परिवारले जस्तो बोका भाकल गर्न सकेका छन् न त अस्पतालमा उपचारका लागि जान सकेका छन्।

निसन्तान दम्पतीको कथा भन्न खोजेको हो भने दयाहाङको जोडीको भन्दा माइला र पुतली बनेका जितु र दियाको कथा केही टेसिलो देखिन्छ। तर मूल पात्रको कथा अगाडि बढाउने चक्करमा यो पनि बिचैमा संवेदनाहीन कथा बन्दै जान्छ।

सन्तान पाएका दम्पती अनि सन्तान पाउन सङ्घर्षरत दम्पतीको कथाको बिचमा निर्देशक शेर्पाले धार्मिक प्रचलनले निम्त्याउने आपतसँगै मानिस र पशुबीचको प्रेम समेत मिसाउने प्रयास गरेका छन्। फिल्मको मुख्य प्लट यही हो।

घरमा पालिने हरेक पशुसँग कृषकको आत्मीय सम्बन्ध बन्न सक्दैन। त्यो आय आर्जनको स्रोत पनि हो। तर कुनै पशुसँग विशेष सम्बन्ध बन्न सक्छन्।

निर्देशकले तोरमे बनेका दयाहाङका छोरा त्यही तोरमे जन्माउन गरेको भाकलको बोकाबीच संवादबाट जुन तहको प्रेम देखाउने प्रयास गरेका छन् दृश्यमा ती सबै भावुकता गायब छ।

फिल्मको पर्दामा जति दृश्य बग्छन् त्यसले आफ्नो मनको भाव बोल्न सक्ने तोरमे र बोल्न नसक्ने बोका कार्साङबीच ज्यानै दिनेसम्मको सम्बन्ध भएको दर्शकले अनुभवै गर्न पाउँदैनन्। ‘ए केटोले बोकालाई माया गर्दो रैछ’ भन्ने बुझाउने संवाद मात्रै हो।

कथाका प्लटहरू अलग अलग फिल्म बनाउन लायक देखिन्छन्। फिल्मको मुलकथा जुन धार्मिक प्रचलनलाई बनाउने प्रयास गरेका छन् निर्देशकले त्यो पनि कमजोर भने हैन। कमजोरी भनेको निर्देशनको ज्ञानमा देखियो। कथालाई कसरी दृश्य भाषामा ढालेर बगाउने भन्ने ज्ञानको कमजोरी देखियो निर्देशकमा। त्यसैले कार्साङ न फिल्म जस्तो बन्न सक्यो न डकुमेन्ट्री जस्तो।

कथा अनुसार कास्टिङमा पनि समस्या देखियो। बाउ-आमा दुवै टिपिकल शेर्पा छन् तर  भाकल गरेर पाएको छोरा तोरमेको बोली, अनुहार, हाउभाउ सबै बाहुन-क्षत्री देखिन्छ।

दयाहाङ राईको काका बनेका पात्रले अलि उमेर छिप्पिएपछि विवाह गर्छन्। उनको श्रीमती पनि पुरै बाहुन-क्षत्री। कतै अन्तर्जातीय विवाह पो हो कि? कतै सङ्केतै छैन।  यसले कथाले माग्ने पात्र अनुसार निर्देशकले कास्टिङ नगरेको प्रस्टै देखियो।

तोरमे र अर्का बाल कलाकार रोशी लिम्बूको बालशुलभ प्रेमलाई पनि कथामा मिसमास गरेका छन् निर्देशकले। तर त्यसले न फिल्मको कथामा मिठास भरेको छ न त कथामा त्यो प्लटको कुनै अर्थ नै छ। फिल्म लम्ब्याउन बाहेक त्यसको थप भूमिका देखिँदैन।

जितुको चरित्र विश्वकर्मा समुदायको सदस्यको हो जो सन्तान नभएर हैरान छ। पुतली बनेकी दिया उनकै श्रीमती। सन्तान नहुँदा बाँझी भनेर समाजबाट पाउने प्रताडना र सन्तान सुखले निम्त्याउने बेचैनी देखाउने प्रयास गरेका छन् निर्देशकले। तर संवादबाट। पात्रको अभिनय मार्फत दर्शकलाई अनुभवै गराउन सकेनन् निर्देशकले।

धार्मिक अन्धविश्वास भएको गाउँको कथामा फिल्म बनेको छ। तर विश्वकर्ता समुदायको प्रतिनिधि बनेका जितुले फिल्मभरि जातका कारण कुनै अप्ठ्यारो भोगेको कुनै दृश्य छैन। उनी विश्वकर्मा समुदायको सदस्यको चरित्रमा रहेछन् भन्ने बुझाउने पुतलीले 'आरन चला न' भन्ने संवाद मात्र हो।

चरित्र चित्रणमा समस्या भए पनि पात्र अनुसारको अभिनयमा जितु फिट देखिएका छन्। दयाहाङको अभिनय सदाबहार एकै लयमा। अन्य फिल्म र यसमा त्यस्तो यो चैं गजब हो है भन्ने दृश्य देखिँदैन।

दयाहाङ र जितु पक्राउ परेर बन कार्यालयमा लैजाँदा बाहेक अन्य दृश्यमा दियाको संवाद किन यति लाउड?  बुझिन्न। सन्तान नभएको पिरले उनको चरित्र त्यस्तो रिसाहा भएको हो भने त दृश्य कथाले बुझाउनु पर्ने हो। ‘बिचरी सन्तान नभएर सधैँ टेन्सनमा हुने रैछिन्’ भनेर दर्शक आफैँले बुझ्नुपर्ने अवस्था देखियो।

बुद्धि तामाङले आफ्नो हैट भन्ने थेगोलाई यो फिल्ममा पनि छाडेका छन्। पात्र अनुसार ठिकै छ उनको अभिनय। सिर्जनाले डेब्यु फिल्मबाट अभिनयमा सम्भावना देखाउन सकिनन्।  बाल कलाकार सोहनको चरित्र चित्रणै गडबड हुँदा अभिनय पक्ष त्यसै ओझेल परेको छ।

दर्शकलाई भावुक बनाउन निर्देशकले गर्नुसम्म मिहिनेत गरेका छन्। बनाउनसम्मका प्लट बनाएका छन्। दर्शक भावुक पनि हुन्छन् तर फिल्मको दृश्यले हैन, अर्ग्यानिक कथा यसरी खेर गएकोमा।

फिल्मको मूल कथावस्तु के हो? नि सन्तान दम्पतीको दुख, आर्थिक दुरावस्थाले परिवार र सम्बन्धमा ल्याउने समस्या, पशु र मानवबीचको प्रेम सम्बन्ध वा सिन्धुपाल्चोकको शेर्पा समुदायमा मात्र प्रचलनमा रहेको बोका भाकल राखेर विवाह गर्ने धार्मिक प्रचलन?

कथा गतिलै खोजे, पटकथा नि बनाए। तर कागजको कथा अनि पटकथा दृश्य भाषाबाट कसरी भन्ने भेउ नै पाउन सकेनन्।अब निर्देशकै अलमलिएपछि फिल्म गतिलो कसरी बनोस्। त्यसैले कार्साङ पनि कमजोर नै बन्यो।

पुष २८, २०८१ आइतबार २०:२६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।