काठमाडौं जिल्ला अदालतमा उपस्थित भए रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन्।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका लामिछाने अदालतमा उपस्थित भए।
त्यसअघि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अभियोगमा फरार रहेका जीवी राई, रवि लामिछानेसहित ३९ जनाविरूद्ध अभियोग पत्र दर्ता भएको छ। यही पुस २१ मा जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोग पत्रमा सो सहकारीको एक अर्ब १९ करोड बचत ठगी भएको दाबी गरिएको छ।
रवि लामिछाने र जीवी राई सम्बन्धी तीन वटा भौचर र फाइल फेला पारेको भन्दै यी दुवैविरूद्ध पाँच करोड आठ लाख बिगो कायम गर्न माग गरिएको छ। अभियोग पत्रमा जीवीसहितको समूहले बदनियतपूर्वक गोर्खा मिडिया प्रालि लगायतका विभिन्न कम्पनीहरू खडा गरेर योजनाबद्ध रूपमा सहकारीको रकम अपचलन गरेको दाबी गरिएको छ।
गएको शुक्रबार पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ८४ दिनको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
त्यसपछि काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने कागज गराई उनलाई परिवारको जिम्मा लगाइएको थियो।
पुष २८, २०८१ आइतबार ११:४५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।