काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने सर्तमा रविलाई निकिता र डिपीको जिम्मा लगाइँदै
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा कास्की जिल्ला अदालतले माग गरेको ६५ लाख धरौटी बुझाएर उनी रिहा भए।
यसअघि धरौटी बुझाएर रिहा भएलगत्तै पुनः पक्राउ गर्ने तयारी भएपनि प्रहरीले उनलाई स्वास्थ्य परीक्षण गराएर स्वयं काठमाडौं अदालतमा हाजिर हुने सर्तमा छाड्ने भएको हो। बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाइसकेका रविको अब मेडिकल जाँच गर्ने तयारी छ।
रविविरुद्व काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था ठगी गरेको आरोपमा प्रहरीले मुद्दा अघि बढाएको छ। यसै सन्दर्भमा कास्की प्रहरीले उनलाई काठमाडौं पठाउने तयारी गरेको भएपनि आफैं उपस्थित हुने सर्तमा अहिले उनलाई श्रीमती निकिता पौडेल र रास्वपाका उपसभापति डिपी अर्यालको जिम्मामा छाड्न लागिएको हो।
त्यसअघि सात जना अभियुक्तमध्ये ६ जना धरौटी बुझाएपछि रिहा भएका छन्। पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख, आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो। उनीहरूमध्ये लिलाबाहेक सबैले धरौटी बुझाइसकेका छन्।
कात्तिक २ मा रास्वपा कार्यालय चमितिबाट पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका रवि ८४ दिन हिरासतमा बसेका छन्।
पुष २५, २०८१ बिहीबार २१:००:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।