नाबालिका छोरीहरूको हत्या आरोपमा आमाको बयान 'कुरा गर्दागर्दै श्रीमानसँग झगडा भयो, त्यही रिसमा उनीहरूलाई मारें'

नाबालिका छोरीहरूको हत्या आरोपमा आमाको बयान 'कुरा गर्दागर्दै श्रीमानसँग झगडा भयो, त्यही रिसमा उनीहरूलाई मारें'

काठमाडौं : सल्यानमा दुई नाबालिका छोरीहरूको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्।

आज बिहान बनगाड कुपिण्डे नगरपालिका-११ स्थित सिस्नेपातलमा दुई नाबालिका दिदीबहिनी घरभित्रै मृत भेटिएका थिए।

२६ वर्षीया पूर्णिमा रानामगरले आफ्नै ३ वर्षीया छोरी करिष्मा रानामगर र ६ महिनाकी छोरी राघवी रानामगरको घाँटी थिचेर हत्या गरेको सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेले जानकारी दिए।

उनले श्रीमानसँग झगडा हुँदा रिसको झोंकमा बच्चाहरूलाई मारेको बयानमा भनेकी छन्।

घटना हुँदा मृतक दिदीबहिनीसँगै आमा पूर्णिमा पनि घरमै थिइन्। बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्छन्। 

पूर्णिमाले बुधबार बिहान साढे १० बजेतिर श्रीमान्सँग फोनमा झगडा भएको र त्यही रिसमा हत्या गरेको बयानमा भनेकी छन्। 

'कुरा गर्दागर्दै श्रीमानसँग झगडा भयो। त्यसपछि मैले रिसको झोकमा उनीहरूको हत्या गरें। उनीहरूलाई पनि मार्ने र आफू पनि मर्ने भन्दै पहिला बच्चालाई मारें। तर, आफू मर्न भने सकिँन, उनले बयानमा भनेकी छन्।

प्रहरीले दुवै बालिकाकाे शव पोस्टमार्टमका लागि मेहेलकुना अस्पताल सुर्खेतमा पठाउन लागेको छ।  

पुष २४, २०८१ बुधबार १९:२०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।