नक्कली इन्स्पेक्टर बनेर विदेश पठाइदिन्छु भन्दै ठगी, आरोपी दुई जना पक्राउ
काठमाडौं : प्रहरीको नक्कली इन्स्पेक्टर बनी ठगी कार्यमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सप्तरी, कडक नगरपालिका वडा नम्बर-१० घर भएका ३८ वर्षीय सुदीप थापा र काठमाडौं महानगरपालिका वडा नम्बर-३२ कोटेश्वर बस्दै आएका ४४ बर्षीय किशोर कुमार चौधरी रहेका छन्।
नेपाल प्रहरीको इन्स्पेक्टर पदको दुरुपयोग गरी नक्कली प्रहरी परिचयपत्र, विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, प्रहरी निरीक्षकको युनिफर्म लगाएको फोटोसमेत खिचि विभिन्न उच्च पदस्थ व्यक्तित्वहरुसँग सम्पर्क रहेको भनी प्रलोभनमा पारी वैदेशिक रोजगारको लागि क्यानडा, अष्ट्रेलिया लगायतका देशमा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गरेको भन्ने गोप्य सूचनाको आधारमा टेकु कार्यालयबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहराबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका थापा र चौधरीलाई नियन्त्रणमा लिई ठगी तथा लिखित सम्बन्धी कसूर (किर्ते) मुद्दामा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ।
पुष २२, २०८१ सोमबार १८:३७:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।