महरा पुत्र राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण मुद्दा दायर, यी हुन् आधार

काठमाडौं : भेपमा लुकाएर सुन तस्करी गरेको आरोपमा पक्राउ परेका रेशम महरासहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको कसुरमा पनि मुद्दा दायर गरिएको छ।
पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा रेशम महरा ‘राहुल’सहित ११ जनालाई प्रतिवादी कायम गरेर शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले दायर गरेको अभियोग पत्र अनुसार भेपमार्फत सुन तस्करी गर्ने समूहमा आबद्ध बेल्जियन नागरिक दावा छिरिङसहित ११ जनालाई प्रतिवादी कायम गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनको आधारमा सरकारी वकिलले उनीहरूविरुद्ध ८ करोड ५५ लाख २८ हजार तिन सय रुपैयाँ बिगो मागदाबी लिएको छ।
सरकारी वकिलको कार्यकालमा राहुलले आफ्नो नाममा केही कम्पनीहरूको आईपीओ भएको बताउँदै हिमालयन साईलेन्स प्रालि र भरोशा सेकुरेटी सर्भिस प्रालिमा १०/१५ लाख जति लगानी भएको बताएका थिए।
उनले उक्त रकम आफ्नो पारिवारीक आयको स्रोत तथा बुवा मन्त्री तथा सभामुख हुँदा करिब चार वर्षसम्म स्वकीय सचिवको रूपमा काम गर्दाको पारिश्रमिक बताएका छन्। बयानमा उनले मुद्दाका कुनै पनि प्रतिवादीहरूसँग आफ्नो चिनजान नभएको दाबी गरेका छन्।
राहुलले चिनियाँ नागरिक ली हाङसाङले दुई वटा सुटकेशभित्र लिई आएको सुन रहेको ७३० थान भेप छुटाउनका लागि पटक-पटक फोन गरी तथा भन्सार कार्यालयमा उपस्थित भई दवाव दिएको भनेर मुद्दा दायर गरिएको छ।
भेप छुटाउनको लागि भन्सार कार्यालय गएको तथा भन्सार अधिकृतलाई फोन गरेको तथ्य राहुल आफैँले पनि स्वीकार गरिसकेको उनको साथमा भन्सार कार्यालय गएका व्यक्तिले जफत गरिएको भेप हेर्न खोजेको भन्ने समेत देखिएको प्रहरी अनुसन्धानमा देखिन्छ।
भेप आयात गर्ने भनिएका चिनियाँ नागरिक दाओ जिङ वाङसँग सम्पर्क एवं सञ्चार हुने गरेको समेत स्वीकारेकाले राहुलले सुन प्रकरणमा भेपमा सुन ल्याउने गरेको तथ्यमा जानकार कसूरमा मतियारको भूमिका निर्वाह गरि सम्पत्ति शुद्धीकरणको प्रकृयामा प्रत्यक्ष रूपमा सहयोग गरिरहेको अदालतमा दायर मुद्दामा उल्लेख छ।
राहुलले त्रिवि भन्सार कार्यालयमा बरामद भएको सुन छुटाउनका लागि दवाव दिने तथा अवैध सुन खरिद बिक्रीमा सहयोग गरी कसूरदारलाई सहयोग पुर्याउने कार्य गरी सम्पत्तिको गैरकानूनी स्रोत लुकाउने वा कसूरमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउन मद्दत गर्ने, सहजीकरण गर्ने, मतसल्लाह गर्ने, सम्बद्धता र सहजिकरण गरेको देखिएको भन्दै सरकारी वकीलको कार्यालयले उनलाई सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा ३० को उपदफा (२) बमोजिम मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुन मागदावी गरेको छ।
मुद्दामा महरासहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन नासु रेवन्त खड्का, सिन्धुपाल्चोकका दिनेश खड्का, राेजन राउत, अमृत कार्की, काभ्रे घर भएका राम केशव थापा क्षेत्रीलाई प्रतिवादी बनाइएको छ।
यसका अलावा बाँके घर भएका ललित थापा, सुनसरीका वेद प्रकाश अग्रवाल, भारतीय नागरिक साहेब राव पाण्डुरङ मगरले, बेल्जियन नागरिक दावा छिरिङ र बाजुरा घर भएकी प्रेरणा राउतलाई प्रतिवादी कायम गरिएको छ।
पुष २०, २०८१ शनिबार १२:३४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।