काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा रविसहित ४४ जनाविरूद्ध मुद्दा चलाउन प्रहरीको राय

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा रविसहित ४४ जनाविरूद्ध मुद्दा चलाउन प्रहरीको राय

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंले कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी प्रकरणमा अनुसन्धान सकेर आज आफ्नो प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। लामो अनुसन्धानपछि प्रहरीले आज प्रतिवेदन बुझाएको हो। 

रास्वपा सभापति रविसहित जिबी राई, पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेल लगायतविरूद्ध पनि मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ। प्रहरीका अनुसार उक्त प्रतिवेदनमा प्रतिवादीहरुमाथि एक अर्ब १९ करोड बिगो कायम गर्नुपर्ने माग गरिएको छ।

स्वर्णलक्ष्मी ठगी प्रकरणमा ४४ जनामाथि नै पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ। एसपी अधिकारीका अनुसार प्रहरीको दुई जना परिसरको प्रहरी हिरासतमा, दुई जना कास्की प्रहरीको हिरासतमा र एक जना कारागारमा छन्। त्यसबाहेक ३९ जनाविरूद्ध मुद्दा चलाउन प्रहरीले राय दिएको हो। 

सङ्गठित रुपमा नै रकम ठगी भएको प्रहरीले निष्कर्ष निकालेको छ। 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोजन प्रक्रिया अघि बढाउने जनाएको छ।  

पुष १८, २०८१ बिहीबार २१:५३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।