वैदेशिक रोजगारीको बहानामा ६६ लाख बढी ठगी गरेको आरोपमा चार जना पक्राउ

वैदेशिक रोजगारीको बहानामा ६६ लाख बढी ठगी गरेको आरोपमा चार जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारमा विभिन्न देश पठाउने भन्दै ६६ लाख ८० हजार ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका-२ घर भई हाल चितवन, भरतपुर उप-महानगरपालिका-१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा, गोरखा गण्डकी नगरपालिका-२ घर भई हाल काठमाडौंको नागार्जुन बस्ने ३१ वर्षीय राजन आले, पर्सा वीरगञ्ज-१६ का ३० वर्षीय जयप्रकाश चौरसिया तथा भक्तपुरको सूर्यविनायक नगरपालिका-५ बस्ने २७ वर्षीय आकाश दुलाल छन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ परेकाहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा रोजगारीका लागि लैजाने भन्दै लामो समयसम्म विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो।

पक्राउ परेकामध्ये थापा र आलेले अमेरिका पठाइदिने भन्दै अमेरिका पठाइदिने भन्दै ५९ लाख २५ हजार तथा चौरसियाले अजरबैजान पठाइदिने भन्दै एक जनाबाट चार लाख र दुलालले युएई पठाइ दिने भन्दै एक जनाबाट तीन लाख ५५ हजार रकम लिई सम्पर्कविहीन भएको पीडितहरूको आरोप रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौ पठाइएको छ।  

पुष १७, २०८१ बुधबार २१:५६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।