सामुदायिक विद्यालयमा पसेर विद्यार्थीलाई धर्म परिवर्तन गराएको आरोपमा पास्टर भट्टराई पक्राउ
काठमाडौं : कैलालीमा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई धर्म परिवर्तन गराएको आरोपमा चर्चका पास्टरलाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-१ स्थित लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई छन्।
कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टका अनुसार धर्म परिवर्तन शीर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय लम्कीले अदालतबाट म्याद थपेर भट्टराईमाथि अनुसन्धान गरिरहेको छ।
भट्टराईले क्रिसमस डेको पूर्वसन्ध्यामा लम्की क्षेत्रका विद्यालयमा पुगेर शैक्षिक सामाग्री बाँड्ने भन्दै विद्यार्थीलाई क्रिश्चियन धर्ममा लाग्न प्रेरित गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
भिडिओमा उनले लम्की चुहानगरपालिका-१ मा रहेको शहीद स्मृति माविमा विद्यार्थीलाई बाइबल र इसुको बारेमा प्रचार गर्दै ईसाई धर्म अंगाल्न अनुरोध गरेको देखिन्छ।
त्यही भिडिओपछि भट्टराईलाई धर्म परिवर्तन गराएको अभियोगमा पक्राउ गरेर अनुसन्धान गरिरहेको एसपी विष्टले बताए।
पुष ९, २०८१ मंगलबार १८:३९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।