सम्पत्ति शुद्धीकरण कानुन अनुसार रविको सांसद पद निलम्बित
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बित भएको छ। सम्पत्ति शुद्धीकरण कानुन अनुसार मुद्दा दायर भएमा मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिने प्रावधान अनुसार उनको पद निलम्बित भएको हो।
प्रतिनिधि सभाले सोमबार सार्वजनिक गरेको सूचनामा चितवन जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा पुस ७ गते सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको पूरक अभियोग पत्र दर्ता भएको ब्यहोरा र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ को प्रयोजनार्थ जानकारीको लागि अनुरोध गरिएको भन्ने जिल्ला सरकारी वकिल कार्यालय कास्कीको पत्र प्राप्त भएको भन्दै प्रहरीले पठाएको पत्र प्राप्त भएको र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ मा ‘प्रचलित कानुन बमोजिम स्थापित सङ्गठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिने व्यवस्था’ रहेकोले सो कानुनी व्यवस्थाको प्रयोजनको लागि सूचना प्रकाशित गरिएको उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान सकाएर बुझाएको प्रस्तावित राय सुझावको आधारमा आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा रविसहितविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा संलग्न रहेको दाबीसहित अभियोग पत्र दायर गरेको थियो।
पुष ८, २०८१ सोमबार १९:२७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।