सभामुखलाई भेटेर रास्वपा नेताहरूले भने 'रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगरिदिनू'
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ।
आज सभामुख घिमिरेलाई सिंहदरबारमा भेटेर रास्वपाका सांसदहरू सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुलीले निलम्बन नगर्न आग्रह गरेका हुन्।
आजै रास्वपाका नेताहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कानुन विज्ञहरूसँग परामर्श गरेपछि सभामुखलाई भेट्न पुगेका हुन्।
रास्वपा नेताहरूलाई सभामुख घिमिरेले यसबारे आफूहरू छलफलमा रहेको भन्दै संविधान, कानुन र संसद नियमावली हेरेर निर्णय गर्ने बताएका थिए।
रविविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको छ। त्यसपछि कास्की प्रहरीले यससम्बन्धी जानकारी संसद् सचिवालयलाई गराइसकेको छ।
पुष ८, २०८१ सोमबार १५:२३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।