अभियोग पत्रमा खुलेको रविको थप बदमासी : गोर्खा मिडियाबाट श्रीमतीलाई ३५ लाख, श्रीमतीको कम्पनीलाई ९१ लाख
काठमाडौँ : संगठित रूपमा सहकारीको रकम ठगी गरेको र ठगीको रकम सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा जिल्ला अदालत कास्कीमा दर्ता भएको अभियोग पत्रले रवि लामिछानेको थप बदमासी खुलाएको छ।
अभियोग पत्रमा रविले गोर्खा मिडिया प्रालिबाट श्रीमती निकिता पौडेललाई ३५ लाख दिएको र निकिता आवद्ध गोपीकृष्ण मुभिज्को नाममा दुई पटक गरेर ९१ लाख दिएको देखिन्छ।
गोर्खा मिडियाको सिद्धार्थ बैङ्कमा रहेको खाताबाट २०७७ असोज ११ मा निकिताको नाममा ३५ लाख गएको देखिन्छ। रविले ‘गोर्खा मिडिया नेटवर्कको उपकरण अर्डर भएको तर नआइसकेको अवस्थामा आवश्यक इक्युपमेन्ट, जनशक्ति लगायतको कन्सल्टेन्सी टिभी फिल्मीले उपलब्ध गराएकाले पेस्की स्वरूप गोपीकृष्ण मुभिजको तत्कालीन अध्यक्ष निकिता पौडेललाई उपलब्ध गराएको रकम हुनुपर्छ’ भनेका छन्।
यसैकारण सो रकम उनको नाममा गएको प्रस्ट खुलाउन सकेका छैनन्। निकिताको नाममा गोर्खा मिडिया नेटवर्कबाट गएको रकमको प्रयोजन के हो भन्नेबारे अर्का सञ्चालक छविलाल जोशीले ‘त्यसबारे जानकारी छैन। जीवी राई र रवि लामिछानेलाई थाहा होला’ भनेका छन्।
अर्को विवरणमा गोपीकृष्ण मुभिज्को नाममा दुई पटक रकम भुक्तानी भएको थियो। अभियोग पत्रमा राखिएको विवरण अनुसार २०७८/०७९ मा गोपीकृष्णको नाममा ६६ लाख २५ हजार र २०७७/०७८ मा २५ लाख भुक्तानी भएको देखिन्छ। यी दुवै रकम भुक्तानीको उद्देश्य भने एफएम खरिद गरेको उल्लेख छ।
गोपीकृष्ण मुभिजले रेडियो फिल्मी नममा एफएम रेडियो र मनोरञ्जनात्मक टेलिभिजन सञ्चालन गर्ने गर्थ्यो। अहिले टेलिभिजनको नाम बदलेर नारी टिभी बनाइएको छ। सिनेमा हल समेत चलाउने गोपिकृष्ण मुभिजको हल भएको स्थान अहिले खण्डहर समान छ। हल समेत बन्द भइसकेको छ।
रवि र विपिनको दाबी : तीन वर्षलाई पुग्ने पैसा छ
गोर्खा मिडिया अन्तर्गत ग्यालेक्सी टेलिभिजन सुरु गर्दा निकै तामझाम गरिएको थियो। व्यवस्थापनदेखि समाचार कक्षसम्मको जनशक्तिलाई निकै आकर्षक पारिश्रमिक तोकिएको थियो। केही कर्मचारीसँग प्रहरीले बयान समेत लिएको देखियो। ती मध्ये एक हुन् पुष्पराज गिरी। उनी अप्रेसन हेडको रूपमा टेलिभिजनमा आबद्ध भएका थिए।
उनले बयानमा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक रवि र क्रियटिभ हेड विपिन कुमार आचार्यले कम्पनी सञ्चालन गर्दा केही कतैबाट, कुनै पनि आम्दानी नभए पनि ३ वर्षसम्म सञ्चालन गर्न रकम व्यवस्थापन गरिसकेका छौँ’ भनेर सुनाएको खुलाएका छन्।
विपिन रविसँगै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका थिए। उनको श्रीमतीको नाममा रहेको कम्पनीले पनि ग्यालेक्सी टिभीबाट पटक-पटक गरेर पाँच करोड बढी रकम लगेको देखिन्छ।
ग्यालेक्सीको कार्यक्रमको स्पन्सर बनाउने भनेर बैङ्कबाट पैसा लिएर कार्यक्रमै उत्पादन नगरेको भन्दै उनको कम्पनीको नाममा सार्वजनिक सूचना समेत निस्किएको थियो।
पुष ७, २०८१ आइतबार २१:३०:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।