रविविरुद्ध दुई बिगो : सहकारी ठगीमा एक अर्ब ५१ करोड, सम्पत्ति शुद्धीकरणमा २७ करोड
पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तीन कसुरमा एक अर्ब ५१ करोड ४० लाख र २७ करोड ८९ लाख बिगो कायम गर्दै मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको हो। सङ्गठित अपराध आफैँमा स्वतन्त्र अभियोग नभई कुनै अपराध सङ्गठित रूपमा गरेको देखिएमा जोडिने अभियोग हो।
त्यसैले अभियोग पत्रमा सहकारी ठगीको कसुरमा एक अर्ब ५१ करोड ४० लाख र सम्पत्ति शुद्धीकरणको अभियोगमा २७ करोड ८९ लाख बिगो कायम गरेर मुद्दा दायर भएको हो। सम्पत्ति शुद्धीकरणमा रवि पत्नी निकिता पौडेललाई सम्पत्ति जफत प्रयोजनका लागि अभियुक्त बनाइएको छ।
आइतबार दर्ता भएको अभियोग कास्कीमा रहेको सूर्यदर्शन सहकारीको बचत रकम हिनामिनाको हो। अभियोग पत्रमा रविले अन्य आपराधिक व्यक्तिहरूसँग मिलेर सहकारीमा रहेको बचतकर्ताहरूको रकम हिनामिना गरेको अभियोग लगाइएको छ। सुर्यदर्शन सहकारीबारे यस अगाडि नै मुद्दा दायर भएकाले आइतबार पूरक अभियोग पत्र दर्ता भएको हो।
पहिलाको अभियोग पत्रमा जीवी राई, कुमार रम्तेल लगायतका १९ जनालाई अभियुक्त कायम गरिएको थियो। पूरक अभियोजन पत्रमा रवि, छविलाल जोशी, लीला पछाई, दीपेश पुन लगायतालाई प्रतिवादी बनाइएको छ।
यस अगाडि दर्ता भएको अभियोग पत्रमा १ हजार ३५ जना बचतकर्ताहरूको एक अर्ब ११ करोड ३४ लाख रकम हिनामिना गरेको दाबी गरिएको थियो। पूरक अभियोग पत्रमा थप १ सय २१ जना बचतकर्ताहरूको रकम समेत थपेर बिगो कायम गरिएको देखिन्छ।
थप बचतकर्ता जोडिएसँगै उनीहरूको तीन करोड ३३ लाख रुपैयाँ पुरानो बिगो रकममा थपिएको हो। यसरी पूरक अभियोग पत्र दर्ता हुँदा बिगो रकम एक अर्ब १४ करोड ६८ लाख पुगेको देखिन्छ।
पूरक अभियोग पत्रमा सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) को देहाय (घ) बमोजिम पीडित जाहेरवालाहरूलाई बिगो रकम दिलाई भराई बाँकी बिगो सूर्यदर्शन बचत तथा ऋण सहरकारी संस्था लिमिटेडमा भराइदिन माग गरिएको छ।
को-को भए अभियुक्त ?
आइतबार दायर भएको पूरक अभियाेग पत्रमा रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, दिपेश कुमार पुन, नेत्रपाणी बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, लिला पछाई, विश्वविक्रम राई, विशाल तामाङ, नविन अछामीलाई प्रतिवादी बनाइएको छ।
यसैगरि रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तबाबु राई र ओमप्रकाश गुरुङ, बिरबहादुर रानाभाट, दिपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ, ज्ञानबहादुर बम्जन, मिना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लिलाबहादुर गुरुङ र पेशल कुमार राई पनि प्रतिवादी कायम भएका छन्।
कृष्णबहादुर गुरुङ, देवकुमार नेपाली, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मीप्रसाद पौडेल समेत पूरक अभियोगमा अभियुक्त छन्।
लिला पछाई र विश्वविक्रम राई क्रिप्टोको कारोबारमा संलग्न रहेको अभियोग समेत लागेको छ। लिलाले तीन करोड बढी रकम क्रिप्टोमार्फत फरार रहेका जीवीलाई दिएको अनुसन्धानमा खुलेको थियो।
सम्पत्ति शुद्धीकरणमा अलग मुद्दा
सङ्गठित अपराधको अभियोग सहकारी ठगीसँगै जोडिएको हो। रवि, उनको श्रीमती निकितासहित पाँच जनामाथि सम्पत्ति शुद्धीकरणको अलग्गै अभियोग पत्र समेत दर्ता भएको छ।
रवि र निकिताविरुद्ध सहकारी ठगीबाट सङ्कलित २७ करोड ८९ लाख रकम शुद्धीकरण गरेको अभियोग लगाइएको छ। निकितालाई रविले सम्पत्ति शुद्धीकरण गरेको सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाइएको छ।
छविलालविरुद्ध ७४ करोड ३४ लाख बिगो
रविमाथि ब्यक्तीगत नभई गोर्खा मिडिया प्रालिको प्रबन्ध सञ्चालकको हैसियतमा सहकारीबाट संगठित रुपमा अपचलन गरी प्रालिमा आएको रकम अपचलनमा संलग्न रहेको आरोप लगाइएको हो। यही आरोपमा प्रहरी हिरासतमा रहेका छविलाल जोशीविरुद्ध पनि अभियोग पत्र दायर भएको छ।
उनी विरुद्ध ७४ करोड ३४ लाख बिगो माग दाबी गरिएको छ। उनीमाथि सम्पत्ति शुद्धीकरणको अभियोग समेत लागेको छ। नेपाल प्रहरीका पूर्व डिआइजी रहेका उनी गोर्खा मिडिया प्रालिका सञ्चालक थिए।
अभियोग पत्रमा छविलाल परिवारका सदस्य पद्मा बञ्जाडे जोशी र रोचक जोशी सम्पत्ति शुद्धीकरणमा सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनेका छन्। सम्पत्ति जफत प्रयोजनका लागि राधा र गीता पछाई पनि प्रतिवादी कायम भएका छन्।
पुष ७, २०८१ आइतबार १४:५०:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।