दरबारमार्गको एक लाउन्जमा ‘गृहमन्त्री लेखकको भान्जा’लाई कुटेको आरोपमा तरूण दलका ८ जना पक्राउ

दरबारमार्गको एक लाउन्जमा ‘गृहमन्त्री लेखकको भान्जा’लाई कुटेको आरोपमा तरूण दलका ८ जना पक्राउ

काठमाडौं : काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्जमा बैतडीका रमेश भट्ट निर्घात कुटिएका छन्। उनी शनिबार बिहान ३ बजेर ४५ मिनेटमा भट्ट कुटिएको प्रहरीले जनाएको छ। 

कुटपिटमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरू अधिकांश नेपाली कांग्रेसको युवा संगठन नेपाल तरूण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्द छन्। 

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका-४ घर भएका कुलध्वज लामा, भुम्लु गाउँपालिका घर भएका सुजन लामा र सुलभ पहारी छन्। त्यसमध्ये कुलध्व तरूण दलका केन्द्रीय सदस्य हुन् भने सुजन लामा तरूण दल काभ्रेका अध्यक्ष हुन्। सुलभ भने तरूण दलको भुम्लु इकाई समितिका अध्यक्ष हुन्।

त्यसबाहेक आफूहरूलाई ‘काभ्रेली समूह’ भनेर चिनाउने मिलन लामा, युवराज लामा, सिन्धुपाल्चोक घर भएका दावा लामा, मोरङ घर भएका डम्बर कार्की र काभ्रेका शक्ति लामा पक्राउ परेका छन्। 

शुक्रबार राति सञ्जीव लामा ‘स्याल’ले सञ्चालन गरेको उक्त बारमा पुगेका भट्टले आफू गृहमन्त्री रमेश लेखकको भाञ्जा भनी परिचय दिएका थिए। बिहान करिब पौने ३ बजे काभ्रे तरूण दलका नेताहरू त्यहाँ पुगे। त्यसको केही समयपछि उनीमाथि हातपात सुरू भएको प्रहरीले जनाएको छ। 

‘धारिलो हतियार प्रयोग भएको छ, घाइतेको खप्पर फुटेको थियो’, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। उनका अनुसार उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

घटनाको खबर पाउनासाथ प्रहरी वृत्त, दरबारमार्गको टोली त्यहाँ पुगेको थियो। दरबारमार्गका डीएसपी राजकुमार श्रेष्ठका अनुसार कुटपिटमा संलग्नको पहिचान गरी नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसरलाई बुझाइएको थियो। 

अहिले पक्राउ परेका ६ जनाविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा अगाडि बढाइएको प्रवक्ता एसपी नवराज अधिकारीले बताए। 

पुष ७, २०८१ आइतबार १३:३९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।