हिरासतमा सुतिरहेको रविको तस्बिर सार्वजनिक गर्ने व्यक्तिले मागे माफी, भने-‘गल्ती भकै हो’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गर्ने व्यक्तिले माफी मागेका छन्।
गत आम निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट हाम्रो नेपाल पार्टीको तर्फबाट उम्मेदवारी दिएका निकोलस भुसालले रविको तस्बिर सार्वजनिक गरेको खुलासा भएको हो।
तस्बिर सार्वजनिक गरेर आफूले गल्ती गरेको स्वीकार गर्दै उनले कसैलाई दोष लगाउने वा खराब नियत नराखेको बताए। आफू रविको स्वास्थ्य अवस्था बुझ्न कास्की प्रहरीमा पुगेको उनको भनाइ छ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै भनेका छन्, ‘भाइरल फोटोबारे केहीबेरमा लाइभ आउनेछु। यो फोटो रियल हो मैले नै खिचेको हो। गल्ती भकै हो, माफी चाहन्छु। कसैलाई दोष लगाउने या खराब नियत राखेको र त्यो फोटो राखिएको थिएन। भ्रममा नपर्न अनुरोध। म स्वास्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न गएको थिएँ।’
बुधबार साँझ रास्वपा नेता दीपक बोहराले सामाजिक सञ्जालमा रवि सुतेको तस्बिर पोस्ट गर्दै सरकार र प्रहरीले ‘यो तस्बिर कतिमा बेचेको?’ भन्दै प्रश्न गरेका थिए।
फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमामा विभिन्न कोणमा बहस सुरू भएको थियो। केहीले तस्बिरको वास्तविकतामाथि नै प्रश्न समेत उठाएका थिए।
यसअघि सन्दीप लामिछानेको बलात्कार मुद्दाको सुनुवाइको समयमा सन्दीपको पक्षमा नाराबाजी गर्दै सर्वोच्च अदालतमा धर्ना बस्न लागेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। उनी पछिल्लो समय रवि लामिछानेको समर्थनमा देखिएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीले भने तस्बिर सार्वजनिक गरेको बारेमा अनुसन्धान भइरहेको भन्दै सार्वजनिक गर्नेलाई कारबाही हुने बताएको छ।
पुष ४, २०८१ बिहीबार १०:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।