कास्की अदालतमा रवि लामिछाने, अभियोग पत्र तयारीका लागि थप म्याद माग्ने प्रहरीको तयारी
पाेखरा : कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ।
सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले पुनः म्याद थपका लागि अदालत उपस्थित गइएको हो।
लामिछानेबारे अनुसन्धान सकेर कास्की प्रहरी प्रतिवेदनको तयारीमा जुटेको छ। एक-दुई दिनमै अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ। मुद्दाको अभियोग पत्र तयार गर्न जिल्ला सरकारी वकिल कार्यालय कास्कीले १० दिनको समय मागेको छ।
लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय सहितको प्रतिवेदन बुझाउने भएको छ।
संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएपछि सूर्यदर्शनको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा सबैभन्दा पहिले पूर्व डीआईजी छविलाल जोशी असोज ६ गते पक्राउ परेका थिए।
प्रहरीले उनीहरू विरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान गरिरहेको हुनाले ९० दिनभित्र मुद्दा अदालतमा दर्ता गरिसक्नुपर्छ। जोशी पक्राउ परेको दिनबाटै अरू ४ जनाको म्याद मिलान भएको हुनाले पुस ५ मा कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर गर्नुपर्ने कानूनी व्यवस्था छ।
मंसिर २७, २०८१ बिहीबार १०:३६:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।