बैतडी र दार्चुला अस्पतालले किन्न लागेको ‘सी-आर्म’ टेन्डरको स्पेशिफिकेशनमा ‘स्क्यान रे’ कम्पनीको क्याटलग हुबहु

बैतडी र दार्चुला अस्पतालले किन्न लागेको ‘सी-आर्म’ टेन्डरको स्पेशिफिकेशनमा ‘स्क्यान रे’ कम्पनीको क्याटलग हुबहु

काठमाडौँ : जिल्ला अस्पताल बैतडी र दार्चुलाले ‘सी-आर्म’ मेसिन किन्न खरिद प्रक्रिया अगाडि बढाउँदै सार्वजनिक गरेको टेन्डरमा सप्लायर्स कम्पनीसँग मिलेमतो देखिएको छ। टेन्डरको स्पेशिफिकेशनमा एकै कम्पनीको उत्पादन मेसिनको मापदण्डसँग मिल्नेगरी क्याटलगका प्रावधानहरू जस्ताको त्यस्तै कपी गरेर राखिएको भेटियो।

उकेराको खोजमा यी दुवै अस्पतालको स्पेशिफिकेशन एकै बायोमेडिकल इन्जिनियरले बनाएको खुल्यो नै। टेन्डर स्पेशिफिकेशनका महत्त्वपूर्ण प्राविधिक प्रावधानहरू ‘स्क्यान रे’ उत्पादक कम्पनीको सी आर्म मेसिनसँग मात्र मिल्ने बनाउन त्यसको क्याटलग जस्ताको त्यस्तै राखिएको छ। ‘मोबाइल सी-आर्म (फ्लोरोस्कोपी) मेसिन’को टेन्डरका लागि बनाइएको स्पेशिफिकेशन पुरै ‘लक्ड’ छ।

जिल्ला अस्पताल दार्चुलाले ८४ लाख र जिल्ला अस्पताल बैतडीले ८० लाखमा एक-एक सेट सि-आर्म खरिद गर्ने गरी टेन्डर प्रक्रिया अगाडि बढाएको छ।

बैतडी अस्पतालले २०८१ मंसिर सात (२०२४, नोभेम्बर २२) र दार्चुला अस्पतालले २०८१ मंसिर १२ (२०२४, नोभेम्बर २७) मा ‘सी-आर्म’ खरिदका लागि टेन्डर आह्वान गरेका थिए।

यी दुवै अस्पतालले ‘सी-आर्म’को टेन्डर आह्वान सार्वजनिक गरेको अन्तर पाँच दिन मात्रै छ। बैतडीले ‘सी-आर्म’को टेन्डर आह्वान गरेको पाँच दिनमा दार्चुलाले टेन्डर आह्वान गरेको छ। यी दुवै अस्पतालको स्पेशिफिकेशन एकै खालको छ।

किन सबै बुँदा उस्तै?
शल्यक्रियाको क्रममा ‘सी-आर्म’को माध्यमबाट भिडियो एक्स-रे जस्तै गरी हेरेर शल्यक्रिया गरिन्छ। जसले गर्दा शल्यक्रिया भइरहेको ठाउँको अवस्थाका बारेमा चिकित्सकलाई जानकारी लिइरहन सहज हुन्छ।

अहिले एफपिडी प्रविधिको ‘सी-आर्म’ आइसकेको छ। तर, नयाँ प्रविधिको ‘सी-आर्म’ आउने मूल्यमै बैतडी र दार्चुला अस्पताल प्रशासनले पुरानो सिसिडी प्रविधिको सी-आर्म किन्न टेन्डर प्रक्रिया अगाडि बढाएका छन्। त्यो पनि उच्च मूल्यमा, एकै कम्पनीको उत्पादन मात्र प्राविधिक मूल्याङ्कनमा पास हुने गरी।

यी दुवै अस्पतालले टेन्डर गरेको ‘सी-आर्म’को प्राविधिक स्पेशिफिकेशनका मुख्य बुँदाहरू मेसिन उत्पादक कम्पनी ‘स्क्यानरे’को  उत्पादन ‘स्क्यान्सी’ मोडलसँग हुबहु मिल्छ।

दुवै अस्पतालको स्पेशिफिकेशन एउटै छ। अनि दुवैको स्पेशिफिकेशनमा ‘स्क्यानरे’को  ‘स्क्यान्सी’ मोडलको प्राविधिक स्पेशिफिकेशन कपिपेष्ट गरेर राखिएको छ। स्क्यानरेको उत्पादकको सबै प्राविधिक विशेषता यता किन्न लागेको मेसिनको स्पेशिफिकेशनमा राखिएकाले यो खरिद प्रक्रिया मिलेमतोमा अगाडि बढेको प्रस्टै देखिन्छ। स्क्यानरे भारतीय उत्पादक कम्पनी हो।

यसरी गरियो बुँदा-बुँदा लक्ड
बैतडी र दार्चुला अस्पतालले टेन्डर आह्वान गरेको ‘मोबाइल सी-आर्म (फ्लोरोस्कोपी) मेसिन’को प्राविधिक स्पेशिफिकेशनमा एकदेखि ‘१२.२’ सम्म बुँदाहरू छन्। उकेराको खोजमा दुवै अस्पतालमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ‘मोबाइल सी-आर्म (फ्लोरोस्कोपी) मेसिन’को प्राविधिक स्पेशिफिकेशन बनाएर पठाएको पुष्टि भयो।

दुवै स्पेशिफिकेशन प्रदेश आपूर्ति केन्द्रका बायोमेडिकल इन्जिनियर आशुतोष भण्डारीले बनाएका हुन्। भण्डारीले स्पेशिफिकेशन बनाउँदा प्रतिस्पर्धा हुने गरी हैन, एकै कम्पनीको क्याटलग कपीपेष्ट गरेर बनाएकाले खरिद मिलेमतोमा उनी मुख्य सहयोगी देखिए।

बायोमेडिकल इन्जिनियर भण्डारीले उकेरासँगको कुराकानीमा बैतडी र  दार्चुलाको ‘मोबाइल सी-आर्म (फ्लोरोस्कोपी) मेसिन’को स्पेशिफिकेशन आफूले नै बनाएर पठाएको सकारे। उकेरासँग उनले स्पिशिफिकेशन लक्ड नभएको दाबी गरे। तर एक उत्पादक कम्पनीको उत्पादनको क्याटलगसँग कसरी हुबहु मिल्यो भन्ने प्रश्नको उत्तर भने दिन सकेनन्।

‘मोबाइल सी-आर्म (फ्लोरोस्कोपी) मेसिन’मा भएका प्राविधिक स्पेशिफिकेशनमा लक्ड गरिएका केही बुँदा यहाँ उदाहरणको रूपमा हेरौँ।

बैतडी र दार्चुला दुवै अस्पतालले टेन्डर आह्वान गरेको ‘मोबाइल सी-आर्म (फ्लोरोस्कोपी) मेसिन’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.१’ मा ‘एक्स-रे जनेरेटर’ कस्तो हुनुपर्ने भन्ने सम्बन्धी मापदण्ड राखिएको छ।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.१’ देखि ‘४.१.८’ सम्मका करिब सबैजसो बुँदा ‘स्क्यानरे’ उत्पादक कम्पनीको ‘स्क्यान्सी’ मोडलको क्याटलग नै कपिपेष्ट गरेर लक्ड गरेको देखिन्छ।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.१.१’ मा ‘इट मष्ट बी अफ माइक्रोप्रोसेसर बेस्ड एन्ड हाई फ्रिक्वेन्सी टेक्नोलोजी ह्याबिङ फ्रिक्वेन्सी अफ ८० किलोहर्ज अर मोर’ उल्लेख छ। ‘स्क्यानरे’ उत्पादक कम्पनीको ‘सी-आर्म’ मेसिनको फ्रिक्वेन्सी ८० देखि २५० किलोहर्ज छ। यो बुँदा लक्ड गरिएको प्रस्टै देखिन्छ।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.१.२’ मा ‘जेनेरेटर आउटपुट सुड बी ३.५ किलोवाट अर मोर’ उल्लेख छ। जुन बुँदा लक्ड मात्रै छैन, यही रकममा थप गुणस्तरीय जेनेटरको मापदण्ड राख्न सकिने देखिन्छ।

एक सिनियर बायोमेडिकल इन्जिनियरका अनुसार ‘जेनेरेटर आउटपुट पाँच किलोवाट वा त्यो भन्दा बढी’ राखेको खण्डमा सी-आर्मले दिने इमेजको गुणस्तर राम्रो हुन्छ। त्यसैगरी छिटो स्क्यानिङ हुनुकासाथै शल्यक्रिया गर्नुपर्ने ठाउँमा गहिरोगरी हेर्न सहज हुन्छ।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.१.३’ मा ‘सुड ह्याभ किलोवाट रेन्जः ४०-११० किलोवाट’ उल्लेख छ। जुन ‘स्क्यानरे’ उत्पादक कम्पनीको ‘सी-आर्म’ मेसिनको प्राविधिक स्पेशिफिकेशनमा भएको बुँदा हुबहु कपि पेस्ट नै गरिएको छ।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.१.४’ मा ‘सुड ह्याभ कन्टिन्युस फ्लोरो एमए रेन्जः अप टु ८ एमए अर मोर’ र ‘४.१.५’ मा ‘सुड ह्याभ पल्स्ड फ्लोरो एमए रेन्जः अप टु एमए अर मोर’ उल्लेख छन्। यी दुवै बुँदा राखिएको मापदण्ड पनि ‘स्क्यानरे’ उत्पादक कम्पनीको ‘सी-आर्म’ मेसिनको प्राविधिक स्पेशिफिकेशनमा भएको बुँदाको भाषा सामान्य रूपमा बदलेर यताको स्पेशिफिकेशनमा राखिएको छ।

त्यसैगरी प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.१.७’ मा ‘सुड ह्याभ रेडियोथेरापी एमएएस रेन्जः अपटु २४० एमएएस अर मोर’ उल्लेख छ। यो बुँदामा पनि झुक्क्याउने किसिमले सामान्य भाषा मात्रै परिवर्तन गरेर ‘स्क्यानरे’ उत्पादक कम्पनीको ‘सी-आर्म’ मेसिनको प्राविधिक स्पेशिफिकेशनमा कपिपेष्ट गरेर राखेर लक्ड गरिएको छ।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.२.२’ मा ‘इट सुड ह्याभ ड्युअल फोकल स्पट ०.६ एमएम अर बेटर (स्मल फोकल स्पट) एन्ड १.८ एमएम अर बेटर (लार्जर फोकल स्पट)’ र बुँदा नम्बर ‘४.२.४’ मा ‘इट सुट ह्याभ ट्युब फिल्टरेशन अफ २.५ एमएम एआई अर बेटर’ उल्लेख छ। यी दुवै बुँदा ‘स्क्यानरे’को कपिपेष्ट नै छन्।

त्यसैगरी प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.३.४’ मा ‘इट सुड ह्याभ अर्बिटल मोमेन्ट -४० डिग्री टु + ९० डिग्री (१३०)’ उल्लेख छ। यो बुँदा पनि हुबहु कपिपेष्ट गरेको देखिन्छ।

त्यसैगरी प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.५.१’ मा ‘सुड ह्याभ १० इन्च अर मोर  एलसिडी टच स्क्रिन, एन्टीग्लार कलर डिस्प्ले कन्ट्रोल प्यानल इन्टेग्रेटेड विदिन कन्सोल वीथ सर्टकट किज् फर इन्टुइटिभ युजर इन्टरफेस’उल्लेख गर्दै लक्ड गरिएको छ। जुन स्क्यानरे कम्पनीसँग मात्रै भएको एक बायोमेडिकल इन्जिनियरले जानकारी दिए। यस्तो मापदण्ड राख्नु आवश्यक नै नहुने बायोमेडिकल इन्जिनियरले जानकारी दिए।

‘कन्ट्रोल प्यानल एलसिडी टच स्क्रिन नै आवश्यक हैन,’एक बायोमेडिकल इन्जिनियरले भने,‘फोटो र इमेज हेर्नका लागि छुट्टै मनिटर चाहिन्छ, यो त स्पेसिफिकेशन नै लाजमर्दो गरी लक्ड गरिएको छ।’

प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.६’ मा ‘इमेज डिस्प्ले मनिटर’ हुनुपर्ने प्रावधान राखिएकै छ।

यी त भए बैतडी र दार्चुला अस्पतालले खरिद प्रक्रिया अगाडी बढाएको ‘सी-आर्म’ मेसिनको  उत्पादक कम्पनी ‘स्क्यानरे’को ‘स्क्यान्सी’ मोडलको कपिपेष्ट गरेर लक्ड गरिएका प्राविधिक स्पेसिफिकेशनका केही बुँदाहरू।

यी मात्रै हैन दुवै अस्पतालले टेन्डर आह्वान गरेको ‘मोबाइल सी-आर्म (फ्लोरोस्कोपी) मेसिन’को बुँदा नम्बर एकदेखि ‘१२.२’ सम्मका सबैजसो बुँदाहरू एक-एक गर्दै चाहेकै सप्लायर्स कम्पनीको प्रस्ताव मात्र पास हुने गरी लक्ड गरिएका छन्।

नयाँ प्रविधिको मेसिन आउने रकममा पुरानो मेसिन
‘सी-आर्म’ मेसिन ‘सिसिडी (चार्ज कपल्ड डिभाइस)’ र ‘एफपिडी (फ्ल्याट प्यानल डिटेक्टर)’ गरी दुई किसिमका प्रविधिका छन्। तर, बैतडी र दार्चुला अस्पतालले आधुनिक प्रविधियुक्त (एफपिडी) सी-आर्म नै आउने रकमले पुरानो प्रविधिको (सिसिडी) सी-आर्म खरिदका लागि टेन्डर प्रक्रिया अगाडी बढाएका छन्।

प्राविधिक स्पेशिफिकेसनको बुँदा नम्बर ‘४.४.२’ मा ‘सुड ह्याभ सिएमओसी-सिसिडी क्यामेरा ह्याभिङ १ एम पिक्सेल (१०२४×१०२४), कभरिङ क्याप्चर एरिया अफ ९” अन दी आइ.आई सर्फेस’ भन्ने मापदण्ड राखेर पुरानो प्रविधिसँग लक्ड गरिएको छ।

तर, सिसिडी  पुरानो एनालग प्रविधिको ‘सी-आर्म’ हो। यस किसिमको ‘सी-आर्म’  एफपिडीको तुलनामा सस्तो पर्छ।

यस (सिसिडी) किसिमको प्रविधिको ‘सी-आर्म’ले राम्रो नतिजा (इमेज) समेत दिन सक्दैन। अहिले सिसिडी प्रविधिको तुलनामा नयाँ र सुविधायुक्त एफपिडी प्रविधिको ‘सी-आर्म’ आइसकेको छ। एफपिडी मोडलको आधुनिक प्रविधियुक्त ‘सी-आर्म’ले नतिजा (इमेज क्वालिटी) पनि राम्रो दिन्छ। 

अस्पताल प्रमुख भन्छन्- ‘लक्ड त थाहा छैन’
बैतडी र दार्चुला अस्पतालमा भएको सी-आर्मको टेन्डरमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख, बायोमेडिकल इन्जिनियर,  अस्पताल प्रमुख लगायतको मिलेमतोबिना यसरी प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर चाहेकै सप्लायर्स कम्पनीलाई टेन्डर दिन सम्भव छैन।

स्पेशिफीकेशन लक्ड गरेर निश्चित कम्पनीको उत्पादन मेसिन किन्न मिलेमतोमा टेन्डर प्रक्रिया अगाडि बढेकोबारे उकेराले बैतडी र दार्चुला अस्पतालका दुवै प्रमुखसँग जिज्ञासा राखेको थियो।

जिल्ला अस्पताल, बैतडीका प्रमुख डा. सुशील विकले सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई नै अनुरोध गरेर त्यहीँका बायोमेडिकल इन्जिनियरले बनाइदिएको स्पेसिफिकेसन नै अनुमोदन गरेर सी-आर्मको टेन्डर गरिएको बताए।

‘आपूर्तिबाट (स्पेशिफिकेशन) बनाइएको हो,’बैतडीका अस्पताल प्रमुख डा. विकले भने,‘प्रदेशका बायोमेडिकल इन्जिनियरलाई हामीले हायर गरेको थियौँ, उहाँले बनाउनुभएको हो।’

जिल्ला अस्पताल, दार्चुलाका प्रमुख डा. सञ्जीव श्रेष्ठले पनि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर भण्डारीले प्राविधिक स्पेशिफिकेशन बनाइदिएको र अस्पतालले त्यसलाई अनुमोदन गरेर टेन्डर आह्वान गरेको बताए।

स्पेशिफिकेशन त एक कम्पनीको उत्पादनसँग मात्र मिल्ने गरी लक्ड गरिएको देखियो त भन्ने जिज्ञासामा उनले प्राविधिक स्पेशिफिकेशन लक्ड भएकोबारे थाहा नभएको दाबी गरे।

‘त्यस्तो छ भने म एकचोटी बुझ्छु नि’ उनले भने।

मंसिर २४, २०८१ सोमबार २२:४०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।