रविलाई अमानवीय व्यवहार गरेकोबारे छलफल गर्न आयोग गएनन् आइजिपी, पुन: बोलाउने तयारी

रविलाई अमानवीय व्यवहार गरेकोबारे छलफल गर्न आयोग गएनन् आइजिपी, पुन: बोलाउने तयारी

काठमाडौँ : सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट मध्यरात कास्की लैजाने क्रममा अमानवीय व्यवहार भएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई सोधपुछमा बोलाए पनि उनी गएनन्।

सोमबार आयोगले छलफलका लागि प्रहरी महानिरीक्षक कुँवरलाई कार्यालयमा बोलाए पनि उनको सट्टा एआइजी टेकबहादुर तामाङ गएका थिए। आयोगमा परेको उजुरीका सम्बन्धमा अनुसन्धान प्रारम्भ गर्दै घटनाबारे आयोगको तामाङ सहितको प्रहरी उच्चअधिकारीहरुसँग थप जानकारी लिएको आयोगले जानकारी दिएको छ।

जानकारी लिने क्रममा आयोगका सदस्य मनोज दुवाडीले कानुनी शासनको प्रत्याभूति सहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने आयोगको चासो रहेको बताएको आयोगले जानकारी दिएको छ।

आयोगले यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षकसँग समेत थप बुझ्नुपर्ने भएकाले अनुसन्धानलाई निरन्तर जारी राखेको सोमबार विज्ञप्ति मार्फत जानकारी दिएको छ।        

सहकारी ठगीमा संलग्न रहेको आरोपमा काठमाडौँमा पक्राउ परेका रविलाई प्रारम्भमा पोखरा लगिएकोमा त्यसपछि विभिन्न जिल्लामा बयानमा लागि प्रहरीले लगिरहेको छ। बुटवलको सुप्रिम सहकारी, काठमाडौँको सुर्यदर्शनपछि चितवनको सहारा सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले बयानका लागि चितवन लगेको थियो।

रविलाई बयानका लागि जहाँ लग्यो त्यही जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक र कार्यकर्ताहरूले विरोध प्रदर्शन गर्ने गरेका छन्। अन्यत्रको तुलनामा चितवनमा प्रदर्शन उग्र भएपछि प्रहरीले बयान सकिएपछि चितवनै नराखी रातारात पोखरा ल्याएको थियो।

रास्वपाले यस घटनालाई मानव अधिकारको उलङ्घन र अमानवीय व्यवहारको आरोप लगाउँदै आएको छ। रास्वपाले नै हिरासतमा प्रहरीबाट अमानवीय व्यवहार गरेको दाबीसहित मानव अधिकार आयोगमा उजुरी दिएपछि आयोगले अनुसन्धान सुरु गरेको थियो।

बयानका लागि उनलाई सोमबार पर्सा पूर्याइएको छ।

मंसिर २४, २०८१ सोमबार १८:१८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।